काठमाडौं, साउन १० — त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र सार्वजनिक भएको घटनामा संलग्न रहेको आरोपमा दुई कलेजमा अध्यापन गर्ने एक शिक्षक पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कोटेश्वरस्थित हिमालयन कलेज र बागबजारस्थित काठमाडौं मोडेल कलेज (केएमसी) मा फाइनान्स विषय अध्यापन गर्दै आएका ३३ वर्षीय सन्दीप सिंहलाई आइतबार पक्राउ गरेको हो।
सीआईबीका अनुसार भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बाट पक्राउ परेका सिंहको स्थायी ठेगाना कैलालीको घोडाघोडी नगरपालिका–११ रहेको छ। उनीविरुद्ध शिक्षा ऐन, २०२८ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।
अनुसन्धानका क्रममा साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सेमेस्टरको एमजीटी–५१५ ‘अर्गनाइजेसनल बिहेभियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै एक ह्वाट्सएप समूहमा सार्वजनिक भएको पाइएको प्रहरीले जनाएको छ।
सोही दिन प्रश्नपत्र बाहिरिएको ह्वाट्सएप समूहका स्क्रिनसट सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको थियो। सीआईबीले प्रश्नपत्र ह्वाट्सएप समूहमा शिक्षक सिंहकै खाताबाट पठाइएको देखिए पनि उनले प्रश्नपत्र कहाँबाट र कसरी प्राप्त गरे भन्ने विषयमा विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।
सीआईबीले एमबीएस प्रथम सेमेस्टरका अन्य विषयहरूको परीक्षा अझै बाँकी रहेकाले प्रश्नपत्र चुहावट वा यस्ता गैरकानुनी गतिविधि दोहोरिन सक्ने भन्दै सतर्कता अपनाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ। यस्ता कार्यमा संलग्न पाइए कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी पनि प्रहरीले दिएको छ।
एमबीएस प्रश्नपत्र लिक प्रकरण : दुई कलेजमा अध्यापन गर्ने शिक्षक पक्राउ, थप अनुसन्धान जारी
Leave a Comment
Leave a Comment

