चिकित्सकमाथि आक्रमणको विरोधमा नारायणी अस्पतालका सबै सेवा ठप्प

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

वीरगञ्ज, साउन १० — चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले आकस्मिक सेवासहित सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेका छन्।
शनिबार अस्पतालको आकस्मिक कक्षमा उपचाररत वीरगञ्ज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि उनका आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै अस्पतालमा प्रदर्शन गरेका थिए। सो क्रममा उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपातसमेत भएको बताइएको छ।
घटनापछि अस्पताल प्रशासनले उपचारमा संलग्न पाँच जना स्वास्थ्यकर्मीलाई छानबिन प्रतिवेदन नआएसम्मका लागि जिम्मेवारीबाट हटाएको जनाएको छ।
यस निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघ, नारायणी क्षेत्रीय समितिले आइतबार चारबुँदे मागसहित आन्दोलन सुरु गरेको हो। संघले चिकित्सकमाथि आक्रमण गर्ने व्यक्तिमाथि कडा कानुनी कारबाही, निलम्बनमा परेका चिकित्सकहरूको निलम्बन फुकुवा तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग राखेको छ।
चिकित्सकहरूले आफ्ना माग पूरा नभएसम्म आकस्मिक सेवासहित अस्पतालका सबै स्वास्थ्य सेवा बन्द रहने बताएका छन्। आन्दोलनका कारण उपचारका लागि अस्पताल पुगेका बिरामीहरू प्रत्यक्ष प्रभावित भएका छन्।
यसअघि पनि नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको थियो।

Leave a Comment