काठमाडौं, फागुन २८ — प्रतिनिधिसभा निर्वाचन सुरक्षामा खटिएका अस्थायी रूपमा भर्ना गरिएका निर्वाचन प्रहरीहरूको आज औपचारिक बिदाइ गरिँदैछ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन ४० कार्यदिनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीहरूको सेवा अवधि आज सकिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अवि नारायण काफ्लेले जानकारी दिए।
उनका अनुसार निर्वाचन अवधिभर खटिएर जिम्मेवारी निर्वाह गरेका प्रहरीहरूलाई धन्यवादसहित प्रमाणपत्र प्रदान गर्दै बिदाइ गरिनेछ। देशलाई आवश्यक पर्दा फेरि पनि सहयोग गर्ने प्रतिबद्धतासहित उनीहरूलाई सम्मान गरिने कार्यक्रम रहेको उनले बताए।
यस वर्ष निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी मातहत १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी बल मातहत १५ हजार ११० गरी कुल १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालन गरिएको थियो।
सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णु प्रसाद भट्टका अनुसार सशस्त्र प्रहरी मातहत खटिएका निर्वाचन प्रहरीहरूको पनि आजै बिदाइ कार्यक्रम आयोजना गरिएको छ।
निर्वाचन प्रहरीहरूले सेवा अवधिभर ३४ हजार रुपैयाँ तलब, जिल्ला दररेट अनुसारको रासन भत्ता, यातायात भत्ता, खाजा खर्च तथा पोसाक भत्ता स्वरूप एकसरो कपडाको खर्च पाएका छन्। सम्बन्धित रकम भने उनीहरूको बैंक खातामा पठाइसकिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार निर्वाचन प्रहरीहरूको सक्रिय भूमिकाकै कारण प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न महत्वपूर्ण सहयोग पुगेको थियो।

