काठमाडौँ, २३ जेठ — परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन्। नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भएको भेटवार्ताका क्रममा उनले बालेन नेतृत्वको सरकारले भारतसँग परिणाममुखी र व्यावहारिक सहकार्य अघि बढाउन चाहेको स्पष्ट पारे।
मन्त्री खनालले नेपालका लागि भारत सबैभन्दा महत्वपूर्ण साझेदार राष्ट्र रहेको उल्लेख गर्दै दुई देशबीचको संवादलाई अझ सघन बनाउने तयारी रहेको बताए। उनले मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व आपूर्ति प्रणाली प्रभावित भइरहेका बेला नेपाललाई इन्धन तथा रासायनिक मलको आपूर्ति निरन्तर राखेकोमा भारतप्रति आभार व्यक्त गरे।
उनका अनुसार वर्तमान सरकार विगतका विवाद र बोझबाट मुक्त रहेकाले नयाँ सोच र नयाँ आधारमा द्विपक्षीय सम्बन्ध विस्तार गर्न इच्छुक छ। सुशासन, आर्थिक सुधार तथा प्रभावकारी कूटनीतिलाई प्राथमिकतामा राखेर भारतसँग सहकार्य अघि बढाइने पनि उनले बताए।
भेटका क्रममा भारतीय विदेशमन्त्री जयशंकरले नेपाल–भारत सम्बन्ध विशेष प्रकृतिको रहेको उल्लेख गर्दै कठिन परिस्थितिमा दुवै देशले एकअर्कालाई सहयोग गर्दै आएको स्मरण गराए। उनले भविष्यमा कृत्रिम बुद्धिमत्ता (एआई), सूचना प्रविधि, स्टार्टअप र नवीकरणीय ऊर्जाजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्ने भारतको योजना रहेको बताए।
जयशंकरले भारत सरकार नेपालको नयाँ नेतृत्वसँग मिलेर विकास, व्यापार र प्रविधि आदानप्रदानका क्षेत्रमा थप सहयोग गर्न तयार रहेको धारणा व्यक्त गरेका थिए।
भारतसँग नयाँ अध्याय सुरु गर्न बालेन सरकार तयार : परराष्ट्रमन्त्री खनाल
Leave a Comment
Leave a Comment






