काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगितामा नेपालले ओमानलाई सहज रूपमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ। सिंगापुरमा आइतबार सम्पन्न सेमिफाइनल खेलमा नेपाल ८ विकेटको प्रभावशाली जित निकाल्न सफल भयो।
टस हारेर ब्याटिङमा उत्रिएको ओमान नेपाली बलरहरूको कसिलो प्रदर्शनसामु टिक्न सकेन। ओमानको टोली १९.४ ओभरमा ९४ रनमै अलआउट भयो। कप्तान सुफिया मेहमुदले ३८ रन र जुबेर अली अकबरले २२ रन बनाए पनि टोलीलाई सम्मानजनक स्कोरतर्फ लैजान सकेनन्।
नेपालका लागि करण केसी सर्वाधिक सफल बलर बने। उनले ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए भने शाहब आलम, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एक–एक विकेट हात पारे।
सामान्य लक्ष्य पछ्याएको नेपालले आक्रामक सुरुवात गर्यो। लोकेश बमले अविजित ४४ रनको उत्कृष्ट पारी खेले भने रोहित पौडेल २१ रनमा नटआउट रहे। कुशल भुर्तेलले २० रनको योगदान दिएपछि नेपालले ९.२ ओभरमै लक्ष्य भेट्टायो।
जितसँगै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको छ। अब उपाधिका लागि नेपालले हङकङ र मलेसियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। नेपालसहित अन्तिम चारमा पुगेका सबै टोलीले आगामी एसियन गेम्समा स्थान सुरक्षित गरिसकेका छन्।
लोकेश चम्किँदा ओमानमाथि नेपालको दबदबा, फाइनल यात्रा तय
Leave a Comment
Leave a Comment






