काठमाडौं, २४ जेठ — एसियाली खेलकुद पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानलाई सानो योगफलमा रोक्दै फाइनल यात्राका लागि ९५ रनको लक्ष्य पाएको छ।
सिंगापुरस्थित सिंगा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको ओमान नेपाली बलरहरूको कसिलो प्रदर्शनसामु टिक्न सकेन। ओमान १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमा समेटियो।
ओमानका कप्तान सफियान मोहम्मदले सर्वाधिक ३८ रन बनाए पनि अन्य ब्याटरले ठूलो योगदान दिन सकेनन्। जुबिर अली अकबरले २२ र अब्दुलजाली खानले १६ रन जोडेका थिए।
नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पार्दा कुशल मल्ल, शाहब आलम र कप्तान दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।
नेपाल र ओमान दुवैले आगामी एसियाली खेलकुदका लागि स्थान सुरक्षित गरिसकेका छन्। तर आजको खेलको विजेताले प्रतियोगिताको फाइनलमा स्थान बनाउनेछ।
अब नेपालले उपाधि नजिक पुग्न २० ओभरभित्र ९५ रनको सामान्य लक्ष्य पूरा गर्नुपर्नेछ। फाइनलमा पुग्ने टोलीले मलेसिया र हङकङबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
करण–सन्दीप चम्किँदा ओमान ९४ रनमै समेटियो, नेपाललाई ९५ रनको लक्ष्य
Leave a Comment
Leave a Comment






