रुस र चीनको साथले बलियो देखिएको इरान, दबाबमा अमेरिका

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

काठमाडौँ, फागुन २९ — इरान र अमेरिका–इजरायलबीच जारी युद्धमा नयाँ मोड देखिएको छ। छोटो समयमै इरानलाई कमजोर बनाउने लक्ष्यसहित सुरु भएको युद्ध अपेक्षाभन्दा लामो हुँदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

युद्ध सुरु भएको करिब दुई सातापछि अवस्था उल्टो जस्तो देखिन थालेको विश्लेषण गरिएको छ। सुरुमा आक्रामक देखिएका अमेरिका र इजरायल अहिले केही रक्षात्मक अवस्थामा देखिँदा इरान भने प्रतिरोधमा सक्रिय रूपमा उत्रिएको बताइन्छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इरानमा सत्ता परिवर्तन गराउने अमेरिकाको प्रारम्भिक लक्ष्य तत्काल पूरा हुने सम्भावना कम देखिएको छ। आक्रमणपछि इरानभित्र राष्ट्रिय एकता झनै बलियो भएको पनि रिपोर्टहरूमा उल्लेख छ।

इरानका सर्वोच्च नेता आयातोल्ला अली खमेनीको मृत्युको चर्चा भए पनि त्यहाँको सत्ता संरचनामा ठूलो परिवर्तन हुने संकेत भने देखिएको छैन। बरु उनको स्थानमा थप कठोर धारको नेतृत्व आउन सक्ने अनुमान गरिएको छ।

रुस र चीनको सहयोग

युद्ध सुरु हुनुअघि नै इरानलाई रुस र चीनको समर्थन रहने अनुमान गरिएको थियो। प्रत्यक्ष रूपमा सेना पठाएको नदेखिए पनि पछिल्ला रिपोर्टहरूले ती दुई देशले इरानलाई गुप्तचर तथा प्रविधिगत सहयोग गरिरहेको संकेत गरेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार रुस र चीनले आफ्ना उपग्रह प्रणालीमार्फत अमेरिकी र इजरायली सैन्य गतिविधिबारे जानकारी उपलब्ध गराइरहेका छन्। यसले इरानलाई लक्ष्य पहिचान गर्न र आक्रमण समन्वय गर्न मद्दत पुगेको बताइन्छ।

चीनले इरानको इलेक्ट्रोनिक युद्ध प्रणाली सुदृढ बनाउन आधुनिक राडार तथा नेभिगेसन प्रविधि उपलब्ध गराउँदै आएको पनि विश्लेषण गरिएको छ।

युद्धको नयाँ स्वरूप

विश्लेषकहरूका अनुसार अहिलेको युद्ध परम्परागत ट्यांक र ठूलो सैन्य भिडन्तभन्दा फरक स्वरूपमा अघि बढिरहेको छ।

उपग्रह सूचना, राडार प्रणाली, इलेक्ट्रोनिक संकेत र गुप्तचर तथ्याङ्क अहिले युद्धको मुख्य साधन बन्दै गएका छन्। जसले शत्रुको गतिविधि पहिल्यै थाहा पाउँछ, उसले रणनीतिक रूपमा ठूलो फाइदा लिन सक्छ भन्ने विश्लेषण गरिएको छ।

खाडी क्षेत्रमा बढ्दो तनाव

युद्ध लम्बिँदै जाँदा इरानले हर्मुज जलडमरू क्षेत्रमा नयाँ रणनीति अपनाउन सक्ने संकेत देखिएको छ।

यो जलडमरू विश्वको महत्वपूर्ण तेल आपूर्ति मार्गमध्ये एक हो। विश्वको करिब २५ प्रतिशत पेट्रोलियम पदार्थ यही बाटो हुँदै ओसारपसार हुने भएकाले यहाँ तनाव बढेमा विश्व ऊर्जा बजारमा ठूलो असर पर्ने देखिन्छ।

युद्धको अन्तिम परिणाम के हुने भन्ने अझै स्पष्ट छैन। तर खाडी क्षेत्रमा बढ्दो सैन्य तनावले विश्व राजनीति र ऊर्जा बजारमा दीर्घकालीन प्रभाव पार्ने सम्भावना देखिएको छ।

Leave a Comment