१ चैत, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीबाट समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूको नामावली आज निर्वाचन आयोगमा बुझाउने तयारी गरेको जनाएको छ।
पार्टीका प्रवक्ता मनिष झाले आइतबार बिहान पत्रकारहरूसँग कुरा गर्दै समानुपातिक सांसदहरूको सूची अन्तिम रूप दिन पार्टीको बैठक बस्ने र त्यसपछि आयोगमा बुझाइने जानकारी दिए।
उनका अनुसार अहिले पार्टीको पहिलो प्राथमिकता समानुपातिक उम्मेदवारहरूको नाम टुंग्याउने रहेको छ। सोही कारण आज नै सूची तयार पारेर निर्वाचन आयोगमा बुझाइने तयारी गरिएको उनले बताए।
नयाँ सरकार गठनका विषयमा भने अझै केही संवैधानिक तथा प्रक्रियागत काम बाँकी रहेकाले समय लाग्न सक्ने उनले बताए। उनका अनुसार नयाँ सरकार बन्न करिब १० दिन जति लाग्न सक्ने अनुमान गरिएको छ।
झाका अनुसार निर्वाचन आयोगले निर्वाचनको अन्तिम विवरण राष्ट्रपति कार्यालयमा बुझाउनुपर्ने, त्यसपछि समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र उपलब्ध गराउने लगायतका प्रक्रिया बाँकी छन्।
यी सबै काम पूरा भएपछि मात्र संसद् गठनको प्रक्रिया अघि बढ्ने भएकाले नयाँ सरकार बन्न केही समय लाग्ने उनले बताएका छन्।

