निर्वाचन आचारसंहिताको पूर्ण पालना नभएको राष्ट्रिय मानव अधिकार आयोगको निष्कर्ष

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, १७ फागुन २०८२।
ले प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा गरिएको अनुगमनका क्रममा निर्वाचन आचारसंहिताको पूर्ण पालना नभएको निष्कर्ष निकालेको छ।

आयोगका सहसचिव तथा प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा उम्मेदवार तथा राजनीतिक दलहरूबाट आचारसंहिता उल्लंघनका विभिन्न घटनाहरू भेटिएको उल्लेख गरिएको छ।

आयोगका अनुसार देशका विभिन्न स्थानमा आयोजित चुनावी सभा तथा र्‍यालीमा बालबालिकालाई सहभागी गराइएको, पत्रकारमाथि धम्की तथा कुटपिटका घटना भएको, आचारसंहिता विपरीत भौतिक रूपमा चुनाव चिन्ह प्रयोग गरिएको र अनुमति बिना व्यक्तिका घरमा झण्डा तथा प्रचार सामग्री टाँगिएको पाइएको छ।

त्यसैगरी स्थानीय तह र प्रदेश सरकारका पदाधिकारीहरू चुनावी प्रचारमा संलग्न भएको, उम्मेदवारहरूले अनुमति भन्दा बढी सवारीसाधन प्रयोग गरेको तथा मतदातामाथि अनुचित प्रभाव पार्ने प्रयास भएको पनि आयोगले जनाएको छ। दलका कार्यकर्ता र समर्थकहरूले सामाजिक सञ्जालमार्फत गालीगलौज गर्ने तथा सीमान्तकृत समुदायमा पर्याप्त मतदाता शिक्षा नपुगेको अवस्था समेत अनुगमनमा देखिएको छ।

आयोगले प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा ४२ जिल्लामा अनुगमन टोली परिचालन गरेको थियो। केन्द्रीय तथा प्रदेश कार्यालयबाट खटिएका टोलीहरूले प्रमुख निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसँग निर्वाचन तयारी, आचारसंहिता पालना र सुरक्षा अवस्थाबारे छलफल गरेका थिए।

अनुगमनपछि आयोगले निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयन गर्न सबै पक्षलाई आग्रह गरेको छ। यद्यपि राजनीतिक दलका नेता–उम्मेदवारबीचको सौहार्दता, सुरक्षा निकायको सतर्कता र निर्वाचन तयारीलाई आयोगले सकारात्मक पक्षका रूपमा उल्लेख गरेको छ।

निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानव अधिकारमैत्री बनाउन सबै पक्षको भूमिका महत्वपूर्ण हुने भन्दै आयोगले संयमता र धैर्यता अपनाउन आह्वान गरेको छ। साथै सामाजिक सञ्जालको दुरुपयोग नगर्न, गालीगलौजपूर्ण सामग्री उत्पादन–प्रसारण नगर्न, शान्ति–सुरक्षा थप सुदृढ गर्न र सम्भावित अवाञ्छित गतिविधि रोक्न आयोगले नेपाल सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।

Leave a Comment