आर्मीलाई ४ विकेटले हराउँदै उपाधि रक्षा, राशिद–कुशलको साझेदारी निर्णायक
६ चैत,काठमाडौं । नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि लगातार दोस्रो पटक जितेको छ। फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले २२७ रनको लक्ष्य दिएको थियो। जवाफमा पुलिसले ५७ ओभरभित्र ६ विकेट गुमाएर २३० रन बनाउँदै लक्ष्य पूरा गर्यो।
पुलिसको जितमा राशिद खान र कुशल भुर्तेलबीचको ९४ रनको साझेदारी महत्वपूर्ण रह्यो। कुशलले ५१ रन बनाउँदा राशिदले ८१ रनको योगदान दिए।
यसअघि आर्मीले दोस्रो इनिङ्समा २२७ रन बनाएको थियो। आकाश चन्द र सोमपाल कामीले अन्तिम विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए। बलिङतर्फ पुलिसका सागर ढकालले ४ विकेट लिए भने करण केसी र ललित राजवंशीले समान ३–३ विकेट लिए।
पहिलो इनिङ्समा दुवै टोलीले २२१–२२१ रन बनाएका थिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ललित राजवंशी ‘प्लेयर अफ द सिरिज’ घोषित भए। उनले प्रतियोगिताभर २६ विकेट लिँदै उत्कृष्ट बलरको अवार्ड पनि जिते।
बागमती प्रदेशका इशान पाण्डे उत्कृष्ट ब्याटर बने। उनले प्रतियोगितामा ३३१ रन बनाए।
गत वर्ष पनि पुलिसले आर्मीलाई हराउँदै उपाधि जितेको थियो।






