उदयपुर, चैत ३ — आइतबार साँझ आएको हावाहुरीका कारण उदयपुरको कटारी क्षेत्रमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन्।
इलाका प्रहरी कार्यालय कटारीका अनुसार कटारी–५ स्थित राधा कृष्ण मन्दिर नजिक टिनको छाना र काठले बनेको खाजा घरमा वर्षासँगै आएको हावाले सुकेको सालको रुख ढल्दा चौधरीको घटनास्थलमै मृत्यु भएको हो।
सोही घटनामा रुखले किचेर ५ जना घाइते भएका छन्। घाइते हुनेहरूमा ४ वर्षीया बिनिशा चौधरी, २७ वर्षीय युवराज कार्की, ४६ वर्षीय लीलाबहादुर दनुवार, ४६ वर्षीय प्रेमचन्द्र दनुवार र १६ वर्षीया अस्मिता परियार रहेका छन्। उनीहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको छ।
घटनामा घाइते भएकी ४ वर्षीया बिनिशा चौधरीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा करिब ४० मिनेटपछि उद्धार गरिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिएका छन्।
यसैगरी कटारी नगरपालिका–८ की मिनामाया तामाङ घरमा खसीबाख्रा सार्ने क्रममा हावाहुरीले भाँचिएको रुखको हाँगाले लागेर गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी ल्याइए पनि चिकित्सकले राति ९:१० बजे मृत घोषणा गरेका थिए।
घाइतेमध्ये टाउकोमा गम्भीर चोट लागेका ४६ वर्षीय लीलाबहादुर दनुवारलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।

