काठमाडौं — प्रतिनिधिसभाको बैठक आइतबार राति अभूतपूर्व तनावमा परिणत भएको छ। विपक्षी दलका सांसदहरूले संसद्को वेल घेराउ गर्दै नाराबाजी गरेपछि सदनको वातावरण अशान्त बनेको हो। विरोधका क्रममा केही सांसदहरूले कुर्सी उचालेर प्रदर्शन गरेका थिए भने केही सांसद सभामुखको आसनसम्म पुगेका थिए।
यसअघि पनि दिनको बैठक विपक्षी अवरोधका कारण स्थगित गरिएको थियो। तर पुनः सुरु भएको बैठकमा पनि सहमति जुट्न नसकेपछि संसद्भित्रको अवस्था थप तनावपूर्ण बनेको हो।
विवाद प्रतिनिधिसभा नियमावली संशोधन प्रक्रियालाई लिएर सुरु भएको थियो। नियमावलीमाथिको दफावार छलफल सकिएपछि सभामुखले संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरेका थिए। विपक्षी दलहरूले भने नियमावलीलाई विषयगत समितिमा पठाएर थप छलफल गर्नुपर्ने अडान राखे।
नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले संशोधन प्रस्तावहरू समितिमा पठाउन माग गरेकी थिइन्। तर सभामुखले कार्यसूचीअनुसार सदनमै छलफल र निर्णय प्रक्रिया अगाडि बढाइने बताएपछि विपक्षी सांसद आक्रोशित बने।
प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि ३५ वटा संशोधन दर्ता भएका छन्। सभामुखले ती प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न थालेलगत्तै विपक्षी सांसदहरू वेलमा पुगेका थिए। त्यसपछि नाराबाजी चर्किएको थियो।
विरोधका क्रममा सांसदहरूले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै चर्को नाराबाजी गरेका थिए। केही सांसद सभामुखको कुर्सीनजिक पुगेपछि संसद्भित्रको सुरक्षा व्यवस्थासमेत कडा बनाइएको थियो।
लगातारको अवरोधपछि संसद् बैठक प्रभावति बनेको छ भने सत्ता पक्ष र विपक्षी दलबीचको राजनीतिक तनाव थप बढेको देखिएको छ।
संसद्मा चर्कियो तनाव : विपक्षी सांसद सभामुखको कुर्सीसम्म पुगे, कुर्सी उचालेर विरोध
Leave a Comment
Leave a Comment






