काठमाडौं, १३ चैत २०८२ — वर्षौँसम्म अस्पतालमा बिरामीको सेवा गर्दै आएकी निशा मेहता अब देशको स्वास्थ्य मन्त्रालयको नेतृत्वमा पुगेकी छिन्। नर्सिङ पेशाबाट आफ्नो करिअर सुरु गरेकी मेहताले अहिले नीतिगत तहबाट स्वास्थ्य प्रणाली सुधार गर्ने जिम्मेवारी सम्हालेकी हुन्।
सुनसरीको इनरुवामा हुर्किएकी मेहताले भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर अध्ययन गरेकी छिन्। उनले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्लिनिकल नर्सका रूपमा काम गरेकी थिइन्। त्यसपछि उनी शिक्षण क्षेत्रमा प्रवेश गर्दै विराटनगरको विराट मेडिकल कलेजमा नर्सिङ विषय अध्यापन गर्न थालेकी थिइन्।
स्वास्थ्य सेवाको अग्रपंक्तिमा काम गरेको अनुभवसँगै उनले अब नीति निर्माण तहमा काम गर्ने अवसर पाएकी छिन्। उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हाल्दै सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यमा रहेको बताउँछिन्।
मेहता राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएदेखि नै त्यसमा सक्रिय रहँदै आएकी थिइन्। उनी पछिल्ला केही वर्षदेखि पार्टीको केन्द्रीय सदस्यका रूपमा कार्यरत थिइन्। २०७९ सालको निर्वाचनमा समानुपातिक सूचीमा परे पनि सांसद बन्न नपाएकी उनले निरन्तर सक्रियता कायम राखेपछि अहिले मन्त्री बन्ने अवसर पाएकी हुन्।
राजनीतिसँगै उनले सामाजिक क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएकी छिन्। नेपाल प्रहरी श्रीमती संघ, कोशी प्रदेशमा प्रशासन सचिवका रूपमा काम गर्दा उनले स्वास्थ्य शिविर सञ्चालन, महिला तथा बालबालिकासम्बन्धी कार्यक्रम तथा समुदाय केन्द्रित गतिविधिमा योगदान दिएकी थिइन्।
उनका श्रीमान् डा. सरोज सिंह कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख हुन्।
मेहताले आर्थिक अभावका कारण उपचार नपाएर ज्यान गुमाउने अवस्थाको अन्त्य गर्ने लक्ष्य राखेको बताएकी छिन्। उनले स्वास्थ्यसम्बन्धी नीति तथा ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी सबै नागरिकलाई सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

