नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसियन गेम्स छनोट प्रतियोगिताको सेमिफाइनलमा मलेसियासँग दुई विकेटले पराजित भएको छ। घरेलु टोली मलेसियासँग हार बेहोरेपछि नेपालले पहिलोपटक सहज रूपमा एसियन गेम्समा स्थान बनाउने अवसर गुमाएको हो।
शनिबार भएको रोमाञ्चक खेलमा नेपालले दिएको १ सय २७ रनको लक्ष्य मलेसियाले ८ विकेट गुमाएर ८ बल बाँकी रहँदै पूरा गर्यो। नेपालको बलिङतर्फ रिया शर्माले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिइन्। मनिषा उपाध्याय र रुविना क्षेत्रीले समान २–२ विकेट हात पार्दा सिता राना मगरले १ विकेट लिइन्।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २६ रन बनाएको थियो। कप्तान इन्दु बर्मा ४६ रनमा अविजित रहिन् भने कविता कुँवरले ३३ रनको योगदान दिइन्। रुवि पोडारले १७ तथा पूजा महतोले १५ रन जोडिन्।
सेमिफाइनलमा पराजित भए पनि नेपालको एसियन गेम्स यात्रा भने समाप्त भएको छैन। अब नेपालले तेस्रो स्थानका लागि आइतबार चीनसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल जिते नेपालले एसियन गेम्समा स्थान सुरक्षित गर्नेछ।
यसअघि समूह चरणमा नेपालले चीनलाई १९ रनले हराएको थियो। अर्को सेमिफाइनलमा थाइल्यान्डले चीनलाई ८३ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। फाइनल पुगेसँगै मलेसिया र थाइल्यान्ड भने एसियन गेम्सका लागि छनोट भइसकेका छन्।
एसियन गेम्स पुग्ने अवसर गुमाउँदै नेपाल मलेसियासँग पराजित
Leave a Comment
Leave a Comment






