हङकङमा रहेका देउवा दम्पतीविरुद्ध ‘रेड नोटिस’ जारी गर्ने तयारी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बुधबार २५ चैत, २०८२ | काठमाडौं-नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा विरुद्ध ‘रेड नोटिस’ जारी गर्ने प्रक्रिया अघि बढाइएको छ।

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले मंगलबार पक्राउ पुर्जी जारी गरेसँगै प्रहरीले आवश्यक प्रक्रिया सुरु गरेको हो। सम्पत्ति शुद्धीकरण विभागको मागअनुसार न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले देउवा दम्पतीलाई पक्राउ गर्न अनुमति दिएको हो।

हाल देउवा दम्पती हङकङमा रहेका छन्। उपचारका लागि सुरुमा सिंगापुर गएका देउवा र दिल्ली पुगेकी आरजु पछि हङकङ पुगेका हुन्।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उनीहरूको घरमा नगद जलेको र ठूलो मात्रामा गरगहना फेला परेको विषयमा विभागले अनुसन्धान अघि बढाएको थियो।

अब विभागको पत्रका आधारमा प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखाले रेड नोटिस जारी गर्ने प्रक्रिया अघि बढाउनेछ। रेड नोटिस जारी भए इन्टरपोलमा आबद्ध देशका प्रहरीले पक्राउ गर्न सहयोग गर्नेछन्।

सम्पत्ति शुद्धीकरणको कसुरमा पहिलेबाटै अनुसन्धान भइरहेको विभागले जनाएको छ। यद्यपि रेड नोटिसलगायतका विषयमा विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले विस्तृत टिप्पणी गर्न नमिल्ने बताएका छन्।

Leave a Comment