विशेष महाधिवेशनले कांग्रेस फुट्दैन : विभाजनको संकेत आए पहिलो बाहिरिने म नै हुँ — विश्वप्रकाश शर्मा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, पुस २४ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावित विशेष महाधिवेशनबाट पार्टी विभाजन नहुने स्पष्ट पारेका छन्। उनले पार्टी फुट्ने अवस्था सिर्जना भए सबैभन्दा पहिले आफू नै महाधिवेशन हलबाट बाहिरिने घोषणा गरेका छन्।

पुस २७ र २८ गते काठमाडौंमा बोलाइएको विशेष महाधिवेशनबारे पार्टीभित्र बहस चर्किरहेका बेला शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले विशेष महाधिवेशन अपरिहार्य भए पनि यसले कांग्रेसलाई कमजोर होइन, सशक्त बनाउने दाबी गरेका छन्।

“विशेष महाधिवेशन हुन्छ, कांग्रेस विभाजित हुँदैन,” शर्माले लेखेका छन्, “यदि पार्टी टुट्ने संकेत देखियो भने अधिवेशन हलबाट सबैभन्दा पहिला म बाहिरिनेछु।”

कांग्रेसले दोस्रो पटक विशेष महाधिवेशन आयोजना गर्न लागेको विषयमा पत्रकार सम्मेलनमार्फत औपचारिक घोषणा भइसकेको छ। उक्त महाधिवेशनमा महामन्त्री शर्मा र अर्का महामन्त्री गगन थापा सहभागी हुने निश्चित भइसकेको छ।

विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र मतभेद देखिएको छ। सभापति शेरबहादुर देउवा पक्ष महाधिवेशनको आवश्यकतामाथि प्रश्न उठाइरहेको छ भने महामन्त्रीद्वय शर्मा–थापा पक्षका नेताहरूले हालको राजनीतिक अवस्था र ‘जेन–जी’ आन्दोलनपछि बनेको परिस्थिति विशेष महाधिवेशन बिना सम्बोधन हुन नसक्ने तर्क गर्दै आएका छन्।

शर्माका अनुसार मुलुकको अवस्था विगतभन्दा पूर्ण रूपमा बदलिएको छ। “आजको नेपाल भदौ २३ अगाडिको नेपाल होइन,” भन्दै उनले नयाँ दृष्टिकोण, कार्ययोजना र प्रतिबद्धताका लागि विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन्।

विशेष महाधिवेशन माग गर्दै कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले चलाएको हस्ताक्षर अभियानमा ४० प्रतिशतभन्दा बढीको समर्थन जुटिसकेको उल्लेख गर्दै शर्माले विधान अनुसार यस्तो अवस्थामा विशेष महाधिवेशन बोलाउनैपर्ने बाध्यकारी व्यवस्था रहेको स्मरण गराएका छन्।

कांग्रेस विधानको धारा १७(२) अनुसार पार्टीका ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ। हस्ताक्षर नगरेका प्रतिनिधिहरूले पनि महाधिवेशनमा सहभागिता जनाउन पाउने शर्माले स्पष्ट पारेका छन्।

विशेष महाधिवेशनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नकारात्मक असर नपार्ने दाबी गर्दै शर्माले उल्टै यसले पार्टीलाई चुनावी रूपमा थप ऊर्जा दिने विश्वास व्यक्त गरेका छन्। “मुर्झाएर बसेको कांग्रेसभन्दा जुर्मुराएर मैदानमा उत्रिएको कांग्रेसले राम्रो परिणाम दिन्छ,” उनले उल्लेख गरेका छन्।

शर्माले विशेष महाधिवेशनलाई ‘बदलिएको समयअनुसारको कांग्रेस र परिवर्तन आवश्यक देशका लागि’ भएको संज्ञा दिएका छन्।

Leave a Comment