श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, सितलपुरकी सहायक प्रधानाध्यापक तथा अवकाशप्राप्त शिक्षिका सुधा देवीले एक गरिब तथा जेहेन्दार छात्रालाई साइकल प्रदान गर्दै २५० जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गर्नुभएको छ।
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, सितलपुरमा आयोजित कार्यक्रममा कक्षा ८ उत्तीर्ण गरेकी छात्रा मुना कुमारीलाई माध्यमिक तहसम्म अध्ययन सहज होस् भन्ने उद्देश्यले सुधा देवीले आफ्नै खर्चमा साइकल उपलब्ध गराउनुभएको हो। यसले छात्रालाई विद्यालय आवत–जावतमा सहजता हुनुका साथै पढाइप्रति थप उत्साह मिल्ने अपेक्षा गरिएको छ।
यसैगरी, उहाँले बालविकास कक्षादेखि कक्षा ८ सम्म अध्ययनरत करिब २५० जना विद्यार्थीलाई कापी, कलम, पेन्सिल, रेजर लगायतका स्टेशनरी सामग्री पनि आफ्नै खर्चमा वितरण गर्नुभएको थियो।
सुधा देवीले हरेक वर्ष एक जना विद्यार्थीलाई साइकल तथा अन्य विद्यार्थीहरूलाई आवश्यक स्टेशनरी सामग्री सहयोग गर्दै आउनुभएको छ।
उहाँको सामाजिक योगदानको कदर गर्दै विद्यालयले सुधा देवी र उहाँका श्रीमान् सुरेन्द्र बहादुर जिसीलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो। विद्यालय व्यवस्थापन समितिका सदस्य बाबुराम कानु र नितेश प्रसाद कुशवाहाले सम्मान प्रदान गर्नुभएको हो।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक राजकिशोर सहनीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सुधा देवी तथा उहाँका श्रीमान् सुरेन्द्र बहादुर जिसी,लायन्स क्लब बाराका अध्यक्ष सुर्यजित सिह शिक्षक विद्यार्थी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन हरिकिशोर मिश्रले गर्नुभएको थियो।

