जेनजी आन्दोलनमा सुरक्षा चूक : डीएसपी गौतम कुँवरविरुद्ध विभागीय कारबाही सिफारिस

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१५ मंसिर, काठमाडौं । जेनजी आन्दोलनका क्रममा हतियार तथा कार्यालयको सुरक्षामा गम्भीर लापरबाही भएको ठहर गर्दै सशस्त्र प्रहरी बलका डीएसपी गौतम कुँवरविरुद्ध विभागीय कारबाहीको सिफारिस गरिएको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले गठन गरेको आन्तरिक छानबिन समितिको रिपोर्टका आधारमा नयाँ बानेश्वरस्थित सुरक्षा बेसका तत्कालीन इन्चार्ज कुँवरलाई कारबाही गर्न सिफारिस गरिएको सशस्त्र हेडक्वार्टर्सका एक स्रोतले पुष्टि गरेको छ।

स्रोतका अनुसार, “मातहतमा रहेका हतियार तथा कार्यालयको सुरक्षा सुनिश्चित गर्न असफल देखिएकाले उनलाई कारबाही प्रक्रियामा अघि बढाउने निर्णय भएको हो।”

जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते बानेश्वर क्षेत्रमा बढेको तनावका बीच प्रदर्शनकारीले उक्त सुरक्षा बेसमा रहेका १४ थान एसएलआर हतियार जलाएको आरोप छ। त्यो घटनाको प्रत्यक्ष जिम्मेवारी इन्चार्जका रूपमा कुँवरमै परेको ठहर छानबिनले गरेको हो।

सशस्त्र प्रहरीको अन्य संरचनामा भने कुनै क्षति नहुँदा अन्य कमान्डरहरू कारबाहीको दायरा बाहिर रहेका छन्। कुँवरलाई सशस्त्र प्रहरी नियमावलीअनुसार विभागीय कारबाही अघि बढाइने तयारी छ, तर अन्तिम निर्णय भने अझै भइसकेको छैन।

Leave a comment