सरकारी विज्ञापनमा विभेदविरुद्ध बाराका पत्रकार आन्दोलित महासंघको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा, वैशाख १० — सरकारी विज्ञापन वितरणमा विभेद गरिएको भन्दै बाराका पत्रकारहरू आन्दोलित भएका छन्। नेपाल पत्रकार महासंघ बारा शाखाले सरकारको पछिल्लो निर्णयप्रति कडा आपत्ति जनाउँदै बिहीबार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।
महासंघका अध्यक्ष रमेश सुबेदीको नेतृत्वमा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको टोलीले सरकारी विज्ञापन केवल सरकारी सञ्चारमाध्यमलाई मात्रै दिने निर्णयलाई विभेदकारी र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको रूपमा व्याख्या गरेको छ। टोलीले यस्तो निर्णय तत्काल सच्याउन माग गरेको छ।
पत्रकारहरूले निजी तथा सामुदायिक सञ्चारमाध्यमलाई विज्ञापनबाट वञ्चित गर्दा मोफसलका सञ्चारगृहहरू आर्थिक संकटमा पर्ने र पत्रकारहरूको रोजगारी नै जोखिममा पर्ने चिन्ता व्यक्त गरेका छन्।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, मधेश प्रदेश कोषाध्यक्ष अनिल कुमार गौरव, वरिष्ठ पत्रकार सत्यप्रकाश श्रेष्ठ लगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको उपस्थिति रहेको थियो।
महासंघले सबै प्रकारका सञ्चारमाध्यमलाई समान रूपमा सरकारी विज्ञापन वितरण गर्न र निष्पक्ष नीति अवलम्बन गर्न सरकारसँग माग गरेको छ। माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ।

Leave a Comment