आज लोकतन्त्र दिवस : जनआन्दोलनको उपलब्धिको स्मरण

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं — आज नेपालभर २०६२/६३ को ऐतिहासिक जनआन्दोलनको सफलतासँगै स्थापित लोकतन्त्रको सम्झनामा लोकतन्त्र दिवस मनाइँदैछ। यस अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी लोकतान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।
२०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाह ले विघटित संसद् पुनःस्थापना गर्ने घोषणा गरेपछि निरङ्कुश शासनको अन्त्य भएको थियो। जनआन्दोलनको व्यापक दबाबपछि गरिएको उक्त घोषणाले राज्यसत्ताको स्रोत जनता नै भएको मान्यता पुनःस्थापित गर्‍यो र देश लोकतान्त्रिक मार्गतर्फ अघि बढ्यो।
त्यसै आन्दोलनको बलमा वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान भयो। आन्दोलनमा सात राजनीतिक दल र नेकपा (माओवादी) सहितको संयुक्त सहभागिताले निरङ्कुश शासन अन्त्य गर्न निर्णायक भूमिका खेलेको थियो।
लोकतन्त्र स्थापना भएपछि नेपालले दुई संविधानसभामार्फत नयाँ संविधान निर्माण गर्‍यो। अन्ततः २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधान २०७२ ले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गर्‍यो।
संविधानअनुसार संघ, प्रदेश र स्थानीय तहका संरचना कार्यान्वयनमा आएपछि देश अहिले संघीयताको अभ्यासमा छ। सेवा प्रवाहलाई जनतासम्म नजिक पुर्‍याउने र विपद्का बेला छिटो सहयोग उपलब्ध गराउने क्षेत्रमा संघीय संरचनाले सकारात्मक प्रभाव देखाएको बताइन्छ।
२०६५ सालदेखि हरेक वर्ष वैशाख ११ गते लोकतन्त्र दिवस मनाइँदै आएको छ, जसले जनआन्दोलनमार्फत प्राप्त अधिकार, स्वतन्त्रता र लोकतान्त्रिक मूल्यहरूको संरक्षण गर्न सबैलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ।

 

Leave a Comment