बारा प्रहरीमाथि दोहोरो चरित्रको आरोप, १०० रुपैयाँमै कानुनी बाटो हुँदाहुँदै किन तस्करी ?

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

राजु चौरसिया,बारा-सरकारले न्यून शुल्कमै भन्सार प्रक्रिया सहज बनाउने विषयमा बहस चलिरहेका बेला बारा जिल्लामा तस्करी नियन्त्रणको प्रभावकारितामाथि गम्भीर प्रश्न उठ्न थालेका छन्।

१०० रुपैयाँमै कानुनी रूपमा सामान भित्र्याउन सकिने विकल्पको चर्चा भइरहँदा पनि किन अवैध तस्करी बढिरहेको छ भन्ने विषयले स्थानीय तहमा चासो र बहस दुवै बढाएको छ।
स्थानीय बासिन्दा तथा व्यवसायीहरूले बारा प्रहरीको भूमिकामाथि नै प्रश्न उठाएका छन्। उनीहरूका अनुसार दिनको समयमा कडाइका साथ नियम लागू गरिए पनि रातिको समयमा भने तस्करी हुने गरेको आरोप छ। “दिनमा कडाइ देखिन्छ, तर राति खुला रूपमा सामान भित्रिन्छ,” एक स्थानीय व्यवसायीले गुनासो गरे। यस अवस्थाले प्रहरीको कार्यशैलीप्रति दोहोरो मापदण्ड अपनाइएको आशंका जन्माएको भन्दै आलोचना भइरहेको छ।
तस्करीका कारण राज्यको राजस्वमा ठूलो नोक्सानी भइरहेको छ भने कानुनी प्रक्रिया पूरा गरेर व्यापार गर्ने व्यवसायीहरू प्रत्यक्ष मारमा परेका छन्। अवैध रूपमा सस्तो मूल्यमा भित्रिएका सामानसँग प्रतिस्पर्धा गर्न नसक्दा इमानदार व्यापारीहरूको व्यवसाय संकटमा परेको उनीहरूको भनाइ छ।
अर्थविद्हरूका अनुसार यदि सरल, पारदर्शी र सस्तो भन्सार प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकियो भने तस्करी न्यूनीकरण गर्न सकिन्छ। तर त्यसका लागि सम्बन्धित निकायको सक्रियता, कडाइ र निरन्तर निगरानी अपरिहार्य हुने उनीहरू बताउँछन्।
यसैबीच, बाराका सहायक प्रमुख जिल्ला अधिकारी छबिरमन भट्टराईले सीमा क्षेत्रमा निगरानी बढाइएको दाबी गरेका छन्। “हामीले सीमावर्ती नाकाहरूमा निगरानी कडा बनाएका छौं, तस्करी न्यूनीकरणतर्फ प्रयास जारी छ,” उनले भने।
तर स्थानीयवासीहरूले भने वास्तविकता फरक रहेको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने र सुरक्षा निकायले आफ्नो जिम्मेवारीप्रति उत्तरदायी बन्नुपर्ने आवाज उठ्दै गएको छ।

Leave a Comment