शान्नान, तिब्बत । तिब्बतको शान्नानमा रहेको एक सहकारीले पुस्तौँदेखि चलिआएको परम्परागत ऊनी कपडा बुन्ने सीपलाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गरिरहेको छ।
‘एथनिक हुआजी ह्यान्डओभन कोअपरेटिभ’मा दर्जनौँ महिला तथा पुरुष काठका तानमा ऊनका धागो बुन्दै आएका छन्। सहकारीले स्थानीयलाई रोजगारी दिनुका साथै परम्परागत बुनाइ कलालाई व्यावसायिक उत्पादनसँग जोडेको छ।
तिब्बती कालीगढ पासाङले सन् २००८ मा स्थापना गरेको यस सहकारीमा अपाङ्गता भएका व्यक्तिसहित १०० भन्दा बढी स्थानीयले रोजगारी पाएका छन्।
सहकारीको मुख्य विशेषता परम्परागत ऊनी कपडा ‘पुलु’ र यसको उत्कृष्ट प्रकार ‘जेटर’ उत्पादन गर्नु हो। जेटर भेडाको घाँटी र ढाडबाट प्राप्त हुने अत्यन्तै नरम तथा मसिनो ऊनबाट तयार गरिन्छ। यस्तो मसिनो ऊनबाट धागो कात्न सामान्य पुलुको तुलनामा कठिन हुने पासाङ बताउँछन्।
उनका अनुसार जेटर सामान्य पुलुभन्दा हलुका, नरम र कोमल हुन्छ। मिङ वंशको शासनकालमा जेटरलाई तिब्बतबाट चिनियाँ शाही दरबारमा उपहार तथा सम्मानस्वरूप पठाउने गरिएको इतिहास छ।
आफ्ना आमाबुबाबाट बुनाइ सीप सिकेका पासाङले आफूले यो कला सिक्ने बेलामा जेटर बुन्न जान्ने मानिसको संख्या १० जनाभन्दा कम रहेको बताए। अहिले जेटर उत्पादनसम्बन्धी परम्परागत सीपलाई चीनले राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदाका रूपमा मान्यता दिएको छ।
जेटर बनाउन प्रयोग हुने ऊन समुद्री सतहबाट करिब ३ हजार ७०० मिटर उचाइमा रहेको शान्नान क्षेत्रका भेडाबाट प्राप्त गरिन्छ।
राजकुमारी वेनचेङसँग जोडिएको इतिहास
सहकारीको कार्यशालामा तिब्बतका सातौँ शताब्दीका राजा सोङत्सेन गम्पो र चिनियाँ राजकुमारी वेनचेङका मूर्ति पनि राखिएका छन्।
स्थानीय परम्पराअनुसार, राजकुमारी वेनचेङले सोङत्सेन गम्पोसँग विवाह गरेपछि तिब्बतमा बुनाइ प्रविधि भित्र्याएको र त्यसपछि यस कलाको विकास भएको विश्वास गरिन्छ।
सहकारीको शोरुममा पुलु र जेटरबाट तयार पारिएका स्कार्फ, सल, ज्याकेट, झोलालगायत सामग्री बिक्रीमा राखिएका छन्। पासाङका अनुसार चीनका विभिन्न क्षेत्रबाट समेत ग्राहक आउने गरे पनि सहकारीका उत्पादनको मुख्य बजार भने तिब्बत नै हो।
परम्परागत सीपलाई रोजगारी र व्यवसायसँग जोड्दै सहकारीले पुरानो बुनाइ परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने प्रयास गरिरहेको छ।
तिब्बतमा शताब्दीयौँ पुरानो बुनाइ कला जोगाउँदै सहकारी, १०० भन्दा बढीलाई रोजगारी
Leave a Comment
Leave a Comment

