हप्तामा दुई दिन बिदा स्थायी बनाउने तयारी, शिक्षा क्षेत्रमा समन्वयमा जोड

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, बैशाख २१ — सरकारले परीक्षणका रूपमा लागू गरेको हप्तामा दुई दिन सार्वजनिक बिदालाई अब स्थायी बनाउने तयारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल ले यस विषयमा अध्ययन भइरहेको जानकारी दिएका हुन्।
सोमबार मन्त्रालयमा उपत्यकाका महानगर प्रमुखहरू र उच्च सरकारी अधिकारीसँग भएको छलफलमा मन्त्री पोखरेलले दुई दिन बिदा स्थायी गर्ने विषयमा गम्भीर रूपमा काम अघि बढाइएको बताए। उनले शिक्षा क्षेत्रको सुधारका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको पनि उल्लेख गरे।
छलफलका क्रममा विद्यालय शुल्क निर्धारण, छात्रवृत्ति वितरण र दरबन्दी व्यवस्थापनजस्ता विषयमा व्यापक बहस भएको थियो। मन्त्री पोखरेलले शुल्कसम्बन्धी गुनासाहरू स्थानीय तहमा नै समाधान हुने गरी संयन्त्र बनाइएको र छात्रवृत्ति वितरणलाई पारदर्शी बनाउन जोड दिएका छन्।
सुनिता डंगोल ले दुई दिन बिदा लागू गर्दा पाठ्यक्रम समायोजन तत्काल गर्नुपर्ने आवश्यकता औंल्याइन्। यस्तै चिरिबाबु महर्जन ले निजी विद्यालयमा छात्रवृत्ति वितरणलाई अझ पारदर्शी बनाउनुपर्नेमा जोड दिए।
नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना ले शिक्षा निःशुल्क बनाउनेतर्फ नीति आवश्यक रहेको भन्दै शुल्क निर्धारणको अधिकार स्थानीय तहलाई दिनुपर्ने बताए। उनले विद्यालय सञ्चालन कम्तीमा २२० दिन कायम गर्नुपर्ने र छात्रवृत्तिको प्रभावकारी अनुगमन गर्नुपर्ने सुझाव पनि दिए।
त्यस्तै गाउँपालिका राष्ट्रिय महासङ्घकी अध्यक्ष लक्ष्मी देवी पाण्डे ले शुल्क निर्धारण र नियमन स्थानीय सरकारले नै गर्नुपर्ने धारणा राखिन्।
छलफलमा शैक्षिक व्यवस्थापन सुधार, शुल्कमा पारदर्शिता, र दरबन्दी मिलानलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर विचार आदानप्रदान गरिएको मन्त्रालयले जनाएको छ।

Leave a Comment