इनरुवामा कर्फ्यू हटाइयो, देवानगञ्ज–हरिनगरमा अझै जारी; सद्भाव र्‍यालीको तयारी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, साउन १२ — सुनसरीको इनरुवा क्षेत्रमा लगाइएको कर्फ्यू मंगलबार बिहानदेखि हटाइएको छ। जिल्लाको सुरक्षा अवस्था क्रमशः सामान्य बन्दै गएको तथा पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन सहज बनाउन कर्फ्यू हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार इनरुवा नगरपालिका–३ र ६ को सीमा क्षेत्र, कोशी ब्यारेजको पुल तथा महेन्द्र राजमार्ग आसपासको क्षेत्रमा लागू गरिएको कर्फ्यू हटाइएको हो। तर, देवानगञ्ज र हरिनगर गाउँपालिकामा सुरक्षा संवेदनशीलता कायम रहेकाले कर्फ्यू भने यथावत् राखिएको छ।
ती क्षेत्रमा मंगलबार बिहानैदेखि नेपाली सेनाले सुरक्षा गस्तीलाई निरन्तरता दिएको छ। प्रशासनले अवस्था सामान्य देखिए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता कायम राखिएको जनाएको छ।
यसअघि सोमबार बसेको सर्वपक्षीय बैठकले शान्ति र सामाजिक सद्भाव कायम गर्ने सहमति गरेपछि आज इनरुवासहित केही स्थानमा सद्भाव र्‍याली आयोजना गर्ने तयारी गरिएको छ।
आइतबार राति देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको झडप हिंसात्मक बन्दा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका थिए। घटनापछि सोमबार कर्फ्यू जारी रहे पनि देवानगञ्ज, कप्तानगञ्ज, हरिनगर, भुटाहा, इनरुवा, लौकही र भोक्राहालगायत क्षेत्रमा प्रदर्शन भएको थियो। विरोध प्रदर्शन विराटनगर, जनकपुर र राजविराजसम्म फैलिएको थियो।
यसैबीच, घटनाको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समिति विराटनगर पुगेर अनुसन्धान थालेको छ। भूपेन्द्र थापाको संयोजकत्वमा रहेको समितिले घटनास्थलको अवलोकन गर्नुका साथै विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ। समितिले घाइते तथा प्रत्यक्षदर्शीसँग बयान लिँदै घटनासम्बन्धी आवश्यक विवरण संकलन गरिरहेको जनाएको छ।

Leave a Comment