मौन अवधि सुरु, ४८ घण्टा प्रचार पूर्णतः बन्द

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

मंगलबार, फागुन १९, २०८२

काठमाडौं : प्रतिनिधिसभा सदस्यका लागि बिहीबार हुने निर्वाचनको तयारीसँगै सोमबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिताअनुसार मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म प्रचारप्रसार निषेध गर्ने व्यवस्था लागू गरेको हो।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिको मुख्य उद्देश्य मतदातालाई दल तथा उम्मेदवारको दबाबबाट मुक्त वातावरणमा आफ्नो विवेक र अन्तरआत्माअनुसार निर्णय लिन सहज बनाउनु हो। विश्वव्यापी अभ्यासअनुसार पनि मतदानअघिको केही समय प्रचारप्रसार रोक्ने प्रचलन रहेको उनले बताए।

मौन अवधिमा राजनीतिक दल, उम्मेदवार, दलका भ्रातृ संगठन, सञ्चारमाध्यम तथा अन्य सरोकारवालाले निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाउने छैनन्। यस अवधिमा सभा, सम्मेलन, गोष्ठी, अन्तरक्रिया, जुलुस, नाचगान, सार्वजनिक भोजभतेर, होहल्ला लगायतका कार्यक्रम निषेध गरिएको छ। मत माग्ने, सामाजिक सञ्जालमा पोस्ट वा सेयर गर्ने, उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश प्रवाह गर्ने कार्यसमेत प्रतिबन्धित छ।

आयोगले सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ। निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले आर्थिक कारोबार गरेको भेटिए उम्मेदवारी खारेजीदेखि ६ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउनेसम्मको कारबाही हुन सक्ने कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए।

मतदान स्थलको ३ सय मिटर वरपर राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री मतदानको ४८ घण्टाअघि नै हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिइएको छ। मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले यस्ता सामग्री हटाउने व्यवस्था मिलाउनेछ।

निर्वाचन आचारसंहिताको दफा १७ मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणको व्यवस्था गरिएको छ। यसअनुसार कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न, प्रचार गर्न वा प्रतिक्रिया जनाउन नपाइने स्पष्ट उल्लेख छ।

आयोगले मौन अवधिलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्ने महत्वपूर्ण चरणका रूपमा लिएको जनाएको छ। साथै मतदातालाई शान्त र सुरक्षित वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्न सहयोग पुर्‍याउन सबै सरोकारवालालाई आचारसंहिता अक्षरशः पालना गर्न आग्रह गरिएको छ।

Leave a Comment