चन्द्रपुरमा मेयरको बोली र पत्रबीच बेमेल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

रौतहट, साउन २९ । चन्द्रपुर नगरपालिकामा नगर प्रमुख सञ्जयकुमार काफ्ले र प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालबीचको विवादले नयाँ प्रश्न जन्माएको छ।

मेयर काफ्लेले सार्वजनिक रूपमा ढकालको प्रशंसा गरे पनि मन्त्रालयमा भने उनकै सरुवा मागेको पत्र बाहिरिएपछि नगर नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको हो।

साउन २६ गते चन्द्रनिगाहपुरमा आयोजित पत्रकार सम्मेलनमा मेयर काफ्लेले ढकाललाई कानुन तथा प्रशासनिक विषयमा दक्ष र योग्य कर्मचारी भन्दै प्रशंसा गरेका थिए। आफू र प्रमुख प्रशासकीय अधिकृतबीच कुनै विवाद नरहेको उनको दाबी थियो।

तर साउन १७ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको पत्रमा भने ढकालमाथि जनप्रतिनिधि तथा कर्मचारीसँग समन्वय गर्न नसकेको र कार्यसम्पादन सन्तोषजनक नभएको आरोप लगाउँदै सरुवा गर्न आग्रह गरिएको छ। उनको स्थानमा अर्का प्रमुख प्रशासकीय अधिकृत पठाउनसमेत अनुरोध गरिएको बताइएको छ।

सार्वजनिक अभिव्यक्ति र मन्त्रालयमा गरिएको पत्राचारबीच देखिएको यो फरक धारणा अहिले चन्द्रपुरको प्रशासनिक वृत्तमा चर्चाको विषय बनेको छ। नगरपालिकाभित्रको विवादको वास्तविक कारणबारे समेत प्रश्न उठ्न थालेको छ।

नगर स्रोतका अनुसार ढकालले जिम्मेवारी सम्हालेपछि इन्धन, विविध खर्च तथा अन्य आर्थिक गतिविधिमा कडाइ गरेका थिए। खर्च नियन्त्रण र प्रशासनिक प्रक्रियामा कडाइ भएपछि राजनीतिक नेतृत्व र प्रशासनबीच दूरी बढेको स्रोतको दाबी छ।

विवादका क्रममा केही कर्मचारीमाथि दबाब सिर्जना तथा कार्यालयको वातावरण बिगार्ने गतिविधि भएको आरोपसमेत लगाइएको छ। केही जनप्रतिनिधिले यस्ता गतिविधिमा राजनीतिक संरक्षण रहेको दाबी गरे पनि आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

नगरपालिकाभित्रको विवाद समाधान गर्न उपप्रमुखसहित केही वडाध्यक्ष तथा कार्यपालिका सदस्यले पहल गरेको बताइन्छ। तर विवाद समाधान हुन नसक्दा प्रशासनिक काम प्रभावित हुने जोखिम बढेको छ।

यसैबीच नगरपालिकाको खाता सञ्चालनमा देखिएको विवादले अत्यावश्यक खरिद, विपद् व्यवस्थापन, कर्मचारी तथा शिक्षकको तलब भुक्तानीलगायतका काम प्रभावित हुनसक्ने चिन्ता बढाएको छ। पशु स्वास्थ्यका लागि आवश्यक सामग्री तथा लम्पी स्किनविरुद्धको खोप खरिदसमेत प्रभावित भएको दाबी गरिएको छ।

Leave a Comment