प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै वडा सचिवलाई धम्क्याउने युवक पक्राउ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, जेठ २ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नाम लिएर दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिने एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्ने व्यक्ति सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घर भई हाल काठमाडौंको शंखमुल बस्दै आएका २२ वर्षीय प्रकाश खड्का हुन्। उनलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालका अनुसार खड्काले प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै अभद्र भाषा प्रयोग गरी धम्की दिएको अडियो सार्वजनिक भएपछि सुरक्षा तथा अनुसन्धान निकायलाई तत्काल कानुनी कारबाही अघि बढाउन निर्देशन दिइएको थियो।
प्रधानमन्त्री कार्यालयले कानुनअनुसार जिम्मेवारी निर्वाह गरिरहेका राष्ट्रसेवक कर्मचारीमाथि त्रास सिर्जना गर्ने, दबाब दिने र अमर्यादित व्यवहार गर्ने गतिविधि अस्वीकार्य रहेको जनाएको छ।
कार्यालयले प्रधानमन्त्री, सचिवालय वा प्रधानमन्त्री कार्यालयको नाम प्रयोग गरी धम्की दिने, बार्गेनिङ गर्ने वा अनुचित प्रभाव पार्ने प्रयासप्रति सचेत रहन आमनागरिक तथा सरकारी निकायलाई आग्रह गरेको छ।
त्यस्तै, शंकास्पद फोन वा सन्देश प्राप्त भएमा आधिकारिक माध्यमबाट प्रमाणीकरण गरेर मात्रै आवश्यक प्रक्रिया अघि बढाउन स्थानीय तह र सरकारी कर्मचारीलाई समेत आग्रह गरिएको छ।

Leave a Comment