जापानको आइची र नागोयामा आगामी असोज ३ गतेदेखि २०औँ एसियाली खेलकुद (एसियाड) सुरु हुँदैछ। प्रतियोगिताको तयारी तीव्र भइरहेका बेला नेपाली खेलाडी र प्रशिक्षक अन्तिम चरणको प्रशिक्षणमा व्यस्त छन्।
राष्ट्रिय खेलकुद परिषद्ले यसपटक एसियाडका लागि २२ खेलमा नेपाल सहभागी हुने टुंगो लगाएको छ। जसमा ५६ महिला र ८० पुरुष गरी १३६ खेलाडी तथा ३२ प्रशिक्षकसहित १६८ सदस्यीय नेपाली टोली रहनेछ।
यो संख्या अघिल्लो एसियाडको तुलनामा ६६ खेलाडीले कम हो। चीनको हाङजाओमा भएको १९औँ एसियाडमा नेपालबाट २९ खेलमा २३४ खेलाडी सहभागी भएका थिए।
यसपटक सहभागी २२ खेलमध्ये नौ खेलका खेलाडीले मात्र विदेशमा प्रशिक्षण गर्ने अवसर पाएका छन्। बाँकी खेलाडी काठमाडौं उपत्यकामा उपलब्ध पूर्वाधार र सीमित स्रोतसाधनमै तयारी गरिरहेका छन्।
विदेशमा प्रशिक्षण गर्ने खेलमध्ये बक्सिङ, कुस्ती, पौडी, टेनिस, कबड्डी र साइक्लिङका खेलाडी भारतमा प्रशिक्षणरत छन्। गल्फ टोलीले दुई फरक देशमा प्रशिक्षण गरेको छ भने वुसु टोलीले चीनमा एक महिना प्रशिक्षण गरेर नेपाल फर्किसकेको छ।
नेपालले यसपटक आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बक्सिङ, क्यानो स्लालम, क्रिकेट, साइक्लिङ, डान्स एन्ड स्पोर्ट्स, गल्फ, जुडो, कबड्डी, कराते, स्केटबोर्ड, सफ्ट टेनिस, स्क्वास, पौडी, टेबल टेनिस, तेक्वान्दो, टेनिस, महिला भलिबल, रेस्लिङ र वुसुमा प्रतिस्पर्धा गर्नेछ।
यसअघि छनोट भएको ई–स्पोर्ट्स टोली भने दुई फरक संघबीचको विवादका कारण एसियाडमा सहभागी हुनबाट वञ्चित भएको छ।
७५ वर्षमा २६ पदक मात्रै
एसियाडमा नेपालको सहभागिता लामो समयदेखि नियमित भए पनि पदक जित्ने हिसाबले प्रदर्शन अपेक्षाकृत कमजोर रहँदै आएको छ।
सन् १९५१ मा भारतमा भएको पहिलो एसियाडदेखि २०२६ को २०औँ संस्करणसम्म आइपुग्दा नेपालले जम्मा ३ रजत र २३ कांस्य गरी २६ पदक जितेको छ।
नेपालका लागि पहिलो रजत पदक सन् १९९८ मा बैंककमा भएको एसियाडमा तेक्वान्दो खेलाडी सविता राजभण्डारीले जितेकी थिइन्।
त्यसपछि सन् २०१८ मा जकार्तामा भएको एसियाडमा प्याराग्लाइडिङको पुरुष टिम क्रसकन्ट्रीतर्फ नेपालले दोस्रो रजत पदक जितेको थियो। बिमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश चौधरी र विशाल थापा सम्मिलित नेपाली टोलीले उक्त सफलता हात पारेको थियो।
अघिल्लो संस्करण हाङजाओ एसियाडमा करातेकी एरिका गुरुङले व्यक्तिगत स्पर्धामा रजत जितिन्। यससँगै उनले नेपाललाई २५ वर्षपछि व्यक्तिगत स्पर्धामा रजत पदक दिलाएकी थिइन्।
हाङजाओमै महिला कबड्डी टोलीले कांस्य पदक जित्दै नेपाललाई अर्को सफलता दिलाएको थियो।
नेपालले सन् १९५१ देखि १९९४ सम्म विभिन्न संस्करणमा ११ कांस्य पदक जितेको थियो। सन् १९९८ मा एक रजत र तीन कांस्य गरी चार पदक हात पारेको थियो। त्यसपछि सन् २००२ र २००६ का एसियाडमा नेपालले समान तीन–तीन कांस्य जितेको थियो।
सन् २०१० को ग्वान्झाउ एसियाडमा बक्सिङका दीपक महर्जनले पुरुष ८१ केजी तौल समूहमा कांस्य पदक जिते। त्यसैगरी सन् २०१४ को इन्चोन एसियाडमा करातेकी बिमला तामाङले महिला एकल स्पर्धामा कांस्य पदक जितेकी थिइन्।
एसियाडमा नेपालको सहभागिता निरन्तर रहे पनि पदक तालिकामा उल्लेखनीय सुधार हुन नसक्नु नेपाली खेलकुदको पुरानो चुनौतीका रूपमा देखिएको छ। सीमित पूर्वाधार, पर्याप्त अन्तर्राष्ट्रिय प्रशिक्षणको अभाव र स्रोतसाधनको कमीबीच नेपाली खेलाडीले यसपटक भने विगतको तुलनामा राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेका छन्।
एसियाडमा नेपालको सहभागिता नियमित, पदक जिताइ भने कमजोर
Leave a Comment
Leave a Comment

