काठमाडौं, ६ पुस । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भ्रष्टाचार नियन्त्रणका लागि योग र ध्यानलाई प्रभावकारी उपायको रूपमा अघि बढाउनुपर्ने बताएका छन्।
विश्व ध्यान दिवसको अवसरमा आइतबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पुनले भ्रष्टाचारको जड मानिसको मानसिक अवस्थासँग जोडिएको उल्लेख गरे। उनका अनुसार लोभ, लालसा र घमण्डले भरिएको मनकै कारण भ्रष्टाचार मौलाउने गरेको हो।
‘हामी भ्रष्टाचारको कुरा गर्दा व्यक्तिलाई दोष दिन्छौं, तर वास्तविक समस्या मनको अशुद्धतामा छ,’ मन्त्री पुनले भने, ‘लोभ, घमण्ड र स्वार्थले भरिएको मनलाई औषधिले निको पार्न सकिँदैन। त्यसको कुनै औषधि छैन, र भविष्यमा बन्ने सम्भावनासमेत देखिँदैन।’
उनले यस्ता नकारात्मक प्रवृत्तिलाई हटाउन योग र ध्यान नै प्रभावकारी औषधि बन्न सक्ने दाबी गरे। टोलटोल र समाजको हरेक तहमा योग तथा ध्यानको अभ्यास फैलाउन सके भ्रष्टाचार घट्ने सम्भावना प्रबल हुने उनको भनाइ थियो।
मन्त्री पुनले योग र ध्यानलाई गाउँगाउँसम्म पुर्याउन सबैले साझा प्रयास गर्नुपर्नेमा जोड दिए। साथै, विद्यालयस्तरबाटै योग र ध्यानको अभ्यास सुरु गर्नुपर्ने बताउँदै यसलाई अतिरिक्त क्रियाकलापअन्तर्गत समावेश गर्ने तयारी भइरहेको जानकारी दिए।
‘योग पढ्ने विषय होइन, गर्ने अभ्यास हो,’ उनले भने, ‘विद्यालयमा हप्ताको एक दिन पढाइभन्दा बाहिर गएर अतिरिक्त क्रियाकलापमार्फत योग र ध्यानलाई व्यवहारमा उतार्नुपर्ने धारणा अघि सारेको छु।’
उनका अनुसार हरेक विद्यालयमा योग तथा ध्यानलाई नियमित अभ्यासको रूपमा विकास गर्ने दिशामा सरकार अघि बढिरहेको छ।

