इन्डोनेसियामाथि शानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ — नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसियन गेम्स महिला छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको खेलमा इन्डोनेसियालाई चार विकेटले पराजित गर्दै नेपाल समूह चरणमा अपराजित रहँदै अन्तिम चारमा पुगेको हो।
समूह ‘बी’ अन्तर्गत भएको खेलमा इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा कप्तान इन्दु बर्माले अविजित ४२ रनको महत्वपूर्ण इनिङ खेलिन्। सोनी पाख्रिनले २९ रन जोडिन् भने कविता कुँवरले १४ रन बनाइन्। सीता रानामगर १३ रनमा नटआउट रहिन्।
यसअघि टस जितेर ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनाएको थियो। इन्डोनेसियाकी कप्तान नि पुतु आयु नन्द सकरिनीले अविजित ५६ रनको अर्धशतकीय इनिङ खेलिन्। नि लुह देवीले २३ तथा नी मेड पुत्री सुवान्देवीले १३ रन थपिन्।
नेपालका लागि मनिषा उपाध्यायले दुई विकेट लिइन् भने रिया शर्माले एक विकेट हात पारिन्।
लगातार दोस्रो जितसँगै नेपालले दुई खेलबाट चार अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थान सुरक्षित गरेको छ। चीन दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेको छ भने इन्डोनेसिया प्रतियोगिताबाट बाहिरिएको छ।
समूह ‘ए’ बाट थाइल्यान्ड शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ। घरेलु टोली मलेसिया दोस्रो स्थानमा रहँदै अन्तिम चारमा स्थान बनाउन सफल भयो। हङकङ भने समूह चरणबाटै बाहिरिएको छ।

Leave a Comment