नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। पहिलो खेलमै चीनलाई १९ रनले पराजित गर्दै नेपालले समूह ‘बी’ मा सुखद सुरुवात गरेको हो।
क्वालालाम्पुरस्थित वायोमास ओभलमा नेपालले दिएको १ सय २६ रनको लक्ष्य पछ्याएको चीनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय ६ रन मात्रै बनाउन सक्यो। चीनलाई कम स्कोरमा रोक्न रिया शर्माले दुई विकेट लिइन् भने मनिषा उपाध्याय, कविता कुँवर र पूजा महतोले समान एक–एक विकेट हात पारे।
चीनका लागि कप्तान मिङयुए झुले सर्वाधिक ३० रन बनाइन्। वाङ हुइङले २१, वेइ हाइटिङले १८ तथा जियापिङ लीले १५ रन जोडिन्। तर नेपाली बलरहरूको कसिलो प्रदर्शनका कारण चीन लक्ष्यसम्म पुग्न सकेन।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा पाँच विकेट गुमाएर १ सय २५ रन बनाएको थियो। नेपालका लागि उपकप्तान पूजा महतोले उत्कृष्ट अर्धशतक प्रहार गरिन्। उनले ५७ बलमा ६ चौकासहित ६३ रन बनाइन्।
रुवि पोडार २२ रनमा अविजित रहँदा सोनी पाख्रिनले १८ रनको योगदान दिइन्। रुविना क्षेत्री चार रनमा नटआउट रहिन्।
जितसँगै नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा पुगेको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा शुक्रबार इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।
चीनलाई हराउँदै नेपाली महिला टोलीको शानदार सुरुवात
Leave a Comment
Leave a Comment






