सामुदायिक स्कुलमा बढ्दै विद्यार्थीको आकर्षण, निजीमा घट्यो भर्नादर

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं — पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको देखिएको छ। सरकारी तथ्यांकअनुसार निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या निरन्तर वृद्धि भइरहेको छ।
आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणले शैक्षिक क्षेत्रमा देखिएको यो परिवर्तनलाई स्पष्ट पारेको हो। सर्वेक्षणअनुसार हाल देशभर अध्ययनरत कुल विद्यार्थीमध्ये ६२.२ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् भने ३७.८ प्रतिशत विद्यार्थी संस्थागत अर्थात् निजी विद्यालयमा छन्।
विद्यालय तहमा कुल विद्यार्थी संख्या पनि अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ। शैक्षिक सत्र २०८१ मा ७० लाखभन्दा बढी विद्यार्थी अध्ययनरत रहेकामा २०८२ मा यो संख्या बढेर ७० लाख ४० हजार नाघेको छ।
सर्वेक्षणले तहगत रूपमा हेर्दा आधारभूत तहमा सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत रहेको देखाएको छ। कक्षा १ देखि ५ सम्मका विद्यार्थीको हिस्सा सबैभन्दा बढी रहेको छ भने माध्यमिक तहतर्फ जाँदा विद्यार्थी संख्या क्रमशः घट्दै गएको देखिन्छ।
सरकारले विद्यालय व्यवस्थापन सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि, पूर्वाधार विकास तथा प्रभावकारी नेतृत्वका कारण सामुदायिक विद्यालयप्रति विश्वास बढ्दै गएको जनाएको छ। आर्थिक सर्वेक्षणमा तह बढ्दै जाँदा निजी विद्यालयमा भर्ना हुने विद्यार्थीको प्रतिशत घट्दै गएको उल्लेख गरिएको छ।
विद्यार्थी संख्या धेरै भएका सामुदायिक विद्यालयमध्ये रुपन्देहीको कालिका मानवज्ञान माध्यमिक विद्यालय अग्रस्थानमा रहेको छ, जहाँ ८ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। त्यसपछि शान्ति नमुना मावि, जनता नमुना मावि, कान्ति मावि तथा नवीन औद्योगिक कदरबहादुर रिता मावि रहेका छन्।
काठमाडौंको ज्ञानोदय मावि, विश्व निकेतन मावि, मोरङको सुकुना मावि, भक्तपुरको वागीश्वरी मावि तथा कपिलवस्तुको नेपाल आदर्श माविमा पनि ठूलो संख्यामा विद्यार्थी अध्ययनरत रहेको सर्वेक्षणले देखाएको छ।

Leave a Comment