काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन नजिकिँदै जाँदा केन्द्रदेखि प्रदेश र जिल्लासम्म पुरानै नेतृत्व दोहोरिने सम्भावना बलियो देखिएको छ। पार्टीभित्र अधिकांश पदाधिकारीलाई निरन्तरता दिने तयारी भइरहेको नेताहरूले बताएका छन्।
चार वर्षदेखि पार्टीको नेतृत्व सम्हाल्दै आएका सभापति रवि लामिछाने पुनः सोही भूमिकामा रहने लगभग निश्चित देखिएको छ। पार्टीभित्र उनको विकल्पमा कुनै बलियो दाबेदार नदेखिएको नेताहरूको भनाइ छ।
उपसभापतिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोहोरिने सम्भावना पनि प्रबल छ। पार्टी नेतृत्वका अनुसार वाग्लेले छोटो समयमै संगठनमा प्रभावशाली भूमिका निर्वाह गरेका कारण उनलाई निरन्तरता दिने पक्षमा अधिकांश नेता छन्।
महामन्त्री पदमा भने आन्तरिक शक्ति सन्तुलनको बहस देखिएको छ। हाल महामन्त्री रहेका कविन्द्र बुर्लाकोटी र भूपदेव शाहमध्ये शाहलाई निरन्तरता दिने सहमति नजिक पुगेको बताइए पनि बुर्लाकोटीको भविष्यबारे अन्तिम निर्णय हुन बाँकी छ।
रास्वपाभित्र पछिल्लो समय ‘बालेन समूह’ र मूलधारबीच संगठनात्मक प्रभाव विस्तारको प्रतिस्पर्धा समेत बढेको छ। केही नेताहरूका अनुसार बालेन निकट भनेर पार्टी प्रवेश गर्नेहरूले सहजै जिम्मेवारी पाउने अवस्था बनेपछि संगठनभित्र असन्तुष्टि पनि बढेको छ।
महाधिवेशनमा सहमतिबाट नेतृत्व चयन गर्ने कि निर्वाचनमार्फत नयाँ नेतृत्व छान्ने भन्ने विषयमा पनि पार्टीभित्र फरक मत देखिएको छ। लामो समयदेखि संगठन निर्माणमा खटिएका कार्यकर्ताले चुनावमार्फत परीक्षण हुनुपर्ने धारणा राखिरहेका छन्।
प्रदेश तहमा पनि अधिकांश सभापतिहरू हालकै जिम्मेवारीमा दोहोरिन चाहेका छन्। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका प्रदेश सभापतिहरूले निरन्तरता दिने संकेत गरेका छन् भने गण्डकी र लुम्बिनीका केही नेताहरू केन्द्रमा जाने तयारीमा छन्।
रास्वपाले वडा र पालिका अधिवेशन चलाइरहेको छ। जिल्ला अधिवेशन २३ र २४ जेठमा तथा प्रदेश अधिवेशन २६ जेठदेखि १ असारसम्म गर्ने कार्यतालिका तय गरिएको छ। पार्टी स्थापना भएको चार वर्ष पुगेकै दिन असार ७ गतेदेखि पहिलो महाधिवेशन सुरु हुने र ९ गतेसम्म चल्नेछ।
रास्वपा महाधिवेशनमा पुरानै नेतृत्व दोहोरिने संकेत
Leave a Comment
Leave a Comment






