पूर्वाधार र उत्पादनमा जोड दिँदै मधेसले ल्यायो ४१ अर्बको बजेट

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

जनकपुरधाम, असार १ — मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशसभाको सोमबार बसेको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले राजस्व तथा व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै बजेट घोषणा गरेका हुन्।
चालु आर्थिक वर्ष २०८२/८३ मा ४६ अर्ब ५८ करोड रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले यस वर्ष भने बजेटको आकार करिब १३ प्रतिशतले घटाएको छ। सीमित स्रोत तथा खर्च व्यवस्थापनलाई ध्यानमा राखेर बजेटको आकार घटाइएको सरकारको भनाइ छ।
कुल बजेटमध्ये १४ अर्ब ६६ करोड रुपैयाँ अर्थात् ३५.६४ प्रतिशत चालु खर्चका लागि विनियोजन गरिएको छ भने २६ अर्ब ४७ करोड रुपैयाँ अर्थात् ६४.३६ प्रतिशत पुँजीगत खर्चतर्फ छुट्याइएको छ। विकास निर्माण तथा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै पुँजीगत खर्चको हिस्सा बढाइएको प्रदेश सरकारले जनाएको छ।
बजेट कार्यान्वयनका लागि आन्तरिक राजस्वबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ संकलन हुने अनुमान गरिएको छ। त्यसैगरी राजस्व बाँडफाँटबाट १२ अर्ब ८३ करोड, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख तथा गत आर्थिक वर्षको नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ परिचालन गरिने बताइएको छ।
आगामी बजेटले उत्पादन वृद्धि, कृषि आधुनिकीकरण, पूर्वाधार विकास, स्वास्थ्य सेवा विस्तार तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। प्रस्तुत बजेटले आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना र प्रदेशको समग्र विकासमा योगदान पुग्ने विश्वास प्रदेश सरकारले व्यक्त गरेको छ।

Leave a Comment