काठमाडौं, २७ फागुन २०८२ — प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार अब इलाम–१ र गोरखा–१ क्षेत्रको मतगणना मात्र बाँकी छ र त्यो पनि छिट्टै सकिने अवस्थामा पुगेको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यी दुई क्षेत्रको गणना अन्तिम चरणमा पुगेको छ र केही समयभित्रै समानुपातिकतर्फको सम्पूर्ण मतगणना सम्पन्न हुनेछ।
पछिल्लो परिणामअनुसार प्रत्यक्षतर्फ १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पनि अग्रता कायम राखेको छ। रास्वपाले हालसम्म ५१ लाख ३६ हजार ६७४ मत प्राप्त गरेको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६ मत पाएको छ भने तेस्रो स्थानमा रहेको नेकपा एमालेले १४ लाख ४८ हजार ४१२ मत प्राप्त गरेको छ।
यस्तै चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ४ हजार १७१ मत पाएको छ। पाँचौँ स्थानमा रहेको श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५८७ मत ल्याएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ७४ हजार ३१४ मतसहित थ्रेसहोल्ड पार गरेको छ।
हालसम्म समानुपातिकतर्फ कुल १ करोड ७ लाख ३२ हजार ९३२ मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ। प्रत्यक्षतर्फको अन्तिम परिणाम भने यसअघि नै सार्वजनिक भइसकेको छ।
यसपटक मधेश केन्द्रित दलहरूको मत भने उल्लेखनीय रूपमा घटेको देखिएको छ। जनता समाजवादी पार्टी नेपालले १ लाख ७४ हजार ३१४ मत पाएको छ भने जनमत पार्टीले ७८ हजार ९५३ मत प्राप्त गरेको छ। राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७१ हजार ४९७ मत ल्याएको छ।
त्यस्तै तराई–मधेश केन्द्रित दलहरूको गठबन्धनको साझा चिन्ह चकिया (जाँतो) ले ६१ हजार ५३३ मत पाएको छ। नेपाल मजदुर किसान पार्टीले ४२ हजार २३५ मत पाएको छ भने राष्ट्र निर्माण दल नेपालले ३८ हजार ९३१ मत प्राप्त गरेको छ। राष्ट्रिय जनमोर्चाले २९ हजार ४३६ मत ल्याउँदा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले २३ हजार ८९१ मत प्राप्त गरेको छ।






