रिहा भएलगत्तै पत्रकार किशोर श्रेष्ठविरुद्ध उपसभामुखको जाहेरी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ : पत्रकार किशोर श्रेष्ठ सोमबार सर्वोच्च अदालतको आदेशपछि हिरासतबाट बाहिरिए। तर रिहा भएको केही समयमै उनीविरुद्ध ललितपुर प्रहरीमा अर्को जाहेरी परेको छ। उपसभामुख रुविकुमारी ठाकुरले श्रेष्ठविरुद्ध जाहेरी दिएकी हुन्।
उपसभामुख ठाकुरले आफूलाई लक्षित गरी ‘जनआस्था’को फेसबुक पेज तथा अनलाइनमा प्रकाशित सामग्रीले आफ्नो प्रतिष्ठा र चरित्रमा गम्भीर असर पारेको दाबी गरेकी छन्। उनले समाचारमा प्रयोग गरिएको आफ्नो तस्बिर र प्रकाशित विवरणप्रति आपत्ति जनाउँदै प्रहरीमा उजुरी दिएकी हुन्।
जाहेरीमा ठाकुरले समाचारमा आफूले रक्षाबन्धन बाँधेका दाजुसँग अनैतिक सम्बन्ध रहेको आशय प्रस्तुत गरी चरित्र हत्या गर्ने प्रयास भएको उल्लेख गरेकी छन्। प्रकाशित सामग्रीका कारण आफ्नो व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा समेत नकारात्मक प्रभाव परेको उनको दाबी छ।
उनले प्रहरीमा जाहेरी दिँदा सम्बन्धित समाचार र प्रकाशित तस्बिरका प्रतिलिपिसमेत बुझाएकी छन्।
यसअघि व्यक्तिगत गोपनीयता उल्लंघनसम्बन्धी आरोपमा पक्राउ परेका श्रेष्ठलाई सोमबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो। न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले अनुसन्धानका लागि उनलाई निरन्तर हिरासतमा राख्न आवश्यक नदेखिएको भन्दै हाजिर जमानी वा तारिखमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।
अदालतले श्रेष्ठको घर तथा कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएका सामग्रीसमेत फिर्ता गर्न निर्देशन दिएको छ। सञ्चार सामग्री जफत नगर्ने तथा सञ्चारमाध्यमको प्रकाशनमा अवरोध नगर्ने संवैधानिक व्यवस्थालाई समेत सर्वोच्चले आफ्नो आदेशमा उल्लेख गरेको छ।
यद्यपि सञ्चार स्वतन्त्रताको अर्थ कानुन उल्लंघन गर्न पाउने छुट नभएको अदालतले स्पष्ट पारेको छ। गालीबेइज्जती, अदालतको अवहेलना, सार्वजनिक शिष्टाचार र नैतिकताविपरीतका कार्यलगायत विषयमा कानुनअनुसार प्रतिबन्ध लगाउन सकिने सर्वोच्चको व्याख्या छ।
श्रेष्ठलाई यसअघि अर्की युवतीसँग रास्वपा सांसदलाई जोडेर समाचार प्रकाशित गरेको विषयमा पक्राउ गरिएको थियो। काठमाडौँ जिल्ला अदालतले उनलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिए पनि सर्वोच्चको आदेशपछि उनी सोमबार नै रिहा भएका हुन्।
यससँगै एक मुद्दामा सर्वोच्चको आदेशबाट हिरासतबाट बाहिरिएका श्रेष्ठमाथि रिहा भएकै दिन अर्को उजुरी परेको छ।

Leave a Comment