कलैया । साउनको तेस्रो सोमबार बाराको कलैया उपमहानगरपालिका–३ भवानीपुरस्थित शिव सरोवरमा आयोजना गरिएको महागंगा आरतीमा हजारौँ भक्तजन सहभागी भएका छन्।
श्री सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको शिव सरोवर पोखरीमा महागंगा आरती मूल समारोह समितिको आयोजनामा धार्मिक कार्यक्रम गरिएको हो। कार्यक्रममा समाज कल्याण सहयोगी समूहले आर्थिक सहयोग गरेको थियो।
महागंगा आरती मूल समारोह समितिका संयोजक अनिल गौरवका अनुसार साउन महिनाभरि प्रत्येक सोमबार शिव सरोवरमा महागंगा आरती आयोजना हुँदै आएको छ। तेस्रो सोमबारको आरतीमा पनि ठूलो संख्यामा श्रद्धालुको उपस्थिति रहेको उनले बताए।
साउनको सोमबार भगवान् शिवको पूजा तथा आराधना गर्ने परम्पराअनुसार बाराका विभिन्न शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो। कलैयास्थित सिद्धेश्वर महादेव मन्दिर, सहजनाथ महादेव मन्दिरलगायतका शिवालयमा दर्शनार्थीको चाप बढेको थियो।
व्रत बसेका महिला तथा पुरुष भक्तजनले शिवलिङ्गमा जल, दूध, बेलपत्र तथा विभिन्न पूजासामग्री अर्पण गर्दै भगवान् शिवको पूजा–आराधना गरेका थिए।
यस अवसरमा जेन्जी युवा बाराले पनि भक्तजनका लागि प्रसाद वितरण गरेको थियो। धार्मिक तथा सांस्कृतिक गतिविधिसँगै भक्तजनलाई प्रसाद वितरण गरिएको आयोजकले जनाएको छ।
कलैयाको शिव सरोवरमा भव्य महागंगा आरती, हजारौँ भक्तजनको सहभागिता
Leave a Comment
Leave a Comment

