गृहमन्त्रीलाई दिइएको अम्लेटमा माछाको काँडा भेटिएपछि होटललाई ३ लाख जरिवाना

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

चितवन — गृहमन्त्री सुधन गुरुङलाई परिकार दिँदा अम्लेटमा माछाको काँडा भेटिएपछि भरतपुरको एक होटलमाथि कारबाही भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिका–१० स्थित लर्ड्स बिजनेस कम्प्लेक्स होटल प्रालि लाई उपभोक्ता संरक्षण ऐनअनुसार ३ लाख रुपैयाँ जरिवाना गरेको हो।
मंगलबार गृहमन्त्री गुरुङले होटलमा अम्लेट खाने क्रममा माछाको काँडा भेटिएको घटना सार्वजनिक भएपछि प्रशासनले अनुगमन गरेको थियो। अनुगमनका क्रममा होटलले गुणस्तरहीन खाने तेल प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको र उपभोक्ताको स्वास्थ्यमा असर पर्ने खालका खाद्य सामग्री प्रयोग गरेको पाइएको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार होटलले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत काम गरेको ठहर गर्दै जरिवाना गरिएको हो। साथै बरामद गरिएका खाद्य सामग्रीसमेत नष्ट गर्ने निर्णय गरिएको छ।
उक्त होटलले चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा खानाको व्यवस्थापनसमेत गरिरहेको जनाइएको छ।

Leave a Comment