२३ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले सोमबारको घटनापछि राजीनामा दिएका छन्।
सोमबार राजधानीमा भएको जेनजी (Gen Z) आन्दोलन हिंसात्मक बनेको र सो क्रममा कम्तीमा १९ जनाले ज्यान गुमाएको घटनाप्रति नैतिक जिम्मेवारी लिने भन्दै उनले पद त्यागेका हुन्।
मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकमा उनले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिएका छन्।
लेखकले घटनाप्रति दुःख व्यक्त गर्दै आफूले गृहमन्त्रीको जिम्मेवारी निर्वाह गर्न नसकेको निष्कर्ष निकाल्दै पद खाली गरेको बताएका छन्।
यसअघि भएको प्रदर्शन नियन्त्रणका क्रममा ठूलो जनहानि भएकाले सरकारले सुरक्षा निकायप्रति व्यापक आलोचना खेपिरहेको छ।


