राहदानी विभागअगाडि आत्मदाह प्रयास गर्ने युवाको अवस्था गम्भीर, शरीरको करिब ६० प्रतिशत भाग जलेको

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, असार २५ — काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटअगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्। उनको हाल वीर अस्पतालमा सघन उपचार भइरहेको छ।
वीर अस्पतालका प्लास्टिक सर्जन डा. पीयूष दाहालका अनुसार गणेशको शरीरको करिब ६० प्रतिशत भागमा गम्भीर जलन भएको छ। अनुहार, टाउको, घाँटी, छाती, दुवै हात तथा खुट्टाको केही भागमा गहिरो जलन देखिएकाले उनलाई आकस्मिक उपचारपछि सघन उपचार कक्ष (आईसीयू) मा सार्ने तयारी गरिएको छ।
चिकित्सकका अनुसार बिरामी बोल्न सक्ने अवस्थामा भए पनि शरीरको ठूलो भाग जलेका कारण उनको स्वास्थ्य अवस्था चिन्ताजनक छ। एनेस्थेसिया टोलीसँग समन्वय गर्दै थप उपचार प्रक्रिया अघि बढाइएको अस्पतालले जनाएको छ।
विशेषज्ञ चिकित्सकहरूका अनुसार शरीरको ५० प्रतिशतभन्दा बढी भागमा जलन भएका बिरामीमा संक्रमण, श्वासप्रश्वासमा समस्या, शरीरमा तरल पदार्थको कमी तथा अन्य अंगमा असर पर्ने जोखिम अत्यधिक हुन्छ। त्यसैले प्रारम्भिक २४ देखि ७२ घण्टा उपचारको दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ।
चिकित्सकहरूले जलनका बिरामीमा रगतमा संक्रमण फैलिने अवस्था (सेप्सिस) हुने जोखिम पनि उच्च रहने भएकाले निरन्तर निगरानी र सघन उपचार आवश्यक पर्ने बताएका छन्।

Leave a Comment