काठमाडौं, पुस २८, २०८२ — नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले पार्टी नेतृत्व, संगठन र आगामी निर्वाचन रणनीतिसम्बन्धी महत्वपूर्ण निर्णयहरू गर्दै कांग्रेस राजनीतिमा निर्णायक मोड ल्याएको छ। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले वर्तमान सभापति शेरबहादुर देउवालाई हटाएर नयाँ सभापति निर्वाचित गर्ने कार्यविधि पारित गरेको छ भने आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णयसमेत गरेको छ।
विशेष महाधिवेशनको बन्दसत्रले १४औँ महाधिवेशन (२०७८) बाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेको ठहर गर्दै सो समितिलाई बिघटन गर्ने कार्यविधि पारित गरेको हो। कार्यविधि पारित भएसँगै १५औँ महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन गरिने निर्णय कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।
कार्यसूचीअनुसार १४औँ महाधिवेशनपछाडि विधानअनुसार गठन गरिएका केन्द्रीय निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समितिसमेत विघटन गरिने उल्लेख छ। आफूलाई सभापतिमा निर्वाचित गराउने बहुमत प्रतिनिधि नै विपक्षमा उभिएपछि देउवामाथि राजनीतिक र नैतिक दबाब तीव्र बनेको छ।
यसैबीच, विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले ‘बदलिएको देश, बदल्नुपर्ने कांग्रेस’ शीर्षकको प्रस्ताव पेश गरेका छन्। प्रस्तावमा उनले कांग्रेसलाई ‘रिबिल्डिङ र रिब्रान्डिङ’ गर्दै सद्भाव, सुशासन र समुन्नतिको नवीन यात्रामा अघि बढाउनुपर्ने उल्लेख गरेका छन्।
शर्माले प्रस्ताव पेश गर्दै भने, “पार्टीभित्र नवीन आत्मविश्वास र समाजमा नवीन विश्वास जागृत गर्नु आजको हाम्रो प्रधान कार्यभार हो।”
त्यस्तै, बन्दसत्रले आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय ध्वनि मतबाट पारित गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कांग्रेस एक्लै चुनावी मैदानमा उत्रने निर्णय गरिएको हो।
महामन्त्री गगन थापा पार्टी नेतृत्व परिवर्तन नगरी चुनावमा नजाने अडानमा पहिलेदेखि नै छन्। उनले केही समयअघि सभापति देउवाको हस्ताक्षरसहित आफू प्रतिनिधिसभा निर्वाचनको टिकट नलिने सार्वजनिक घोषणा गरेका थिए। १४औँ महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका शेखर कोइरालासमेत संस्थापन पक्षमै रहे पनि यस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत प्रतिनिधि नीति र नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन्।
मंसिर २०७८ मा सम्पन्न १४औँ महाधिवेशनमा देउवा करिब ६० प्रतिशत मतसहित सभापति निर्वाचित भएका थिए। आइतबार राति ९ बजेसम्मको विवरणअनुसार २ हजार ६ सय ६२ प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी भइसकेका छन्। कुल प्रतिनिधि संख्या ४ हजार ७ सय ४३ रहेकामा सम्पर्कमा रहेका प्रतिनिधिसमेत गरेर ६० प्रतिशतभन्दा बढीको सहभागिता हुने आयोजकको दाबी छ। सोमबार बिहान ८ बजेदेखि पुनः नामदर्ता खुला राखिएको छ।
विशेष महाधिवेशनबाट आउने सम्भावित परिणामबारे सभापति देउवाले निकटस्थ नेताहरूसँग परामर्श थालेका छन्। विशेष महाधिवेशनका निर्णयहरूले कांग्रेसभित्र नेतृत्व परिवर्तनको प्रक्रिया औपचारिक रूपमा अघि बढ्दै गएको स्पष्ट संकेत गरेका छन्।


