काठमाडौं, असार २५ — नेपाल प्रहरीले कैलालीमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई कारबाही गरी जिल्ला तानिएको भन्ने समाचारको खण्डन गरेको छ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले डीएसपी चौधरीलाई न त निलम्बन गरिएको हो, न त कुनै अनुशासनात्मक कारबाही गरिएको हो भन्दै सार्वजनिक भएका समाचारहरू भ्रामक रहेको बताएका छन्।
उनका अनुसार, डीएसपी चौधरीले हालै एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिबारे सम्बन्धित प्रदेश प्रहरी कार्यालयमार्फत सामान्य प्रशासनिक रूपमा जानकारी मात्र मागिएको हो। यसलाई कारबाही वा जिल्ला तानिएको विषयसँग जोडेर बुझ्नु उपयुक्त नहुने उनले स्पष्ट पारे।
प्रवक्ता काफ्लेले नेपाल प्रहरी चेन अफ कमान्डअनुसार सञ्चालन हुने संस्था भएकाले कुनै पनि विषयमा आवश्यक जानकारी लिनु नियमित प्रशासनिक प्रक्रिया भएको बताए। हालसम्म चौधरीविरुद्ध कुनै लिखित वा औपचारिक कारबाही प्रक्रिया अघि नबढाइएको पनि उनले जानकारी दिए।
सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा सरकारी कर्मचारीले आफ्नो पदको मर्यादा, व्यावसायिक आचरण र कानुनी सीमालाई ध्यानमा राख्नुपर्ने उल्लेख गर्दै काफ्लेले विशेषगरी कसैको नाम लिएर अभिव्यक्ति दिँदा थप संयमित र जिम्मेवार हुनुपर्ने बताए।
उनले विद्यार्थी वा सार्वजनिक जमघटमा हुने सम्बोधन पनि शिष्ट, सन्तुलित र व्यावसायिक हुनुपर्ने उल्लेख गर्दै डीएसपी चौधरीको अभिव्यक्तिको सन्दर्भ बुझ्ने उद्देश्यले मात्र जानकारी मागिएको दोहोर्याए।
प्रहरीले यस विषयलाई अनुशासनात्मक कारबाहीका रूपमा नभई नियमित प्रशासनिक प्रक्रिया मात्र भएको भन्दै भ्रमपूर्ण समाचारप्रति सचेत रहन आग्रह गरेको छ।
डिएसपी चौधरीमाथि कारबाही नभएको प्रहरीको स्पष्टिकरण, ‘सोधपुछका लागि जिल्ला तानिएको’ समाचार असत्य
Leave a Comment
Leave a Comment






