काठमाडौं, असार ३० — नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक सञ्जालमार्फत गोली हानेर हत्या गर्ने धम्की आएको भन्दै प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार संसदमा बोल्दै महरले जनताको प्रतिनिधिका रूपमा सरकारका कामको गुण र दोषका आधारमा समर्थन तथा आलोचना गर्दै आएको भए पनि त्यसकै कारण निरन्तर ज्यान मार्ने धम्की आइरहेको बताए।
उनले आफू सरकारको अन्धाधुन्ध विरोध नगर्ने, जनताको आवाज उठाउने जिम्मेवारी निर्वाह गरिरहेको स्पष्ट पार्दै संसदमा व्यक्त गरेका विचारकै कारण धम्कीको सामना गर्नुपरेको गुनासो गरे।
महरका अनुसार मंगलबार मात्रै फेसबुकमार्फत दुई जनाले गोली हानेर मार्ने धम्की दिएका छन्। तीमध्ये एक जनाले आफ्नो नाम, फोन नम्बर र ठेगानासमेत सार्वजनिक गर्दै धम्की दिएको दाबी उनले संसदमा गरेका हुन्। अर्का एक व्यक्तिबाट पनि यस्तै प्रकृतिको धम्की आएको उनले जानकारी दिए।
संसदमा विषय उठाउँदै महरले यस्ता घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र जनप्रतिनिधिको सुरक्षाप्रति सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याएका छन्।
सांसद ऐनबहादुर महरलाई ज्यान मार्ने धम्की, संसदमै उठाए सुरक्षा चासो
Leave a Comment
Leave a Comment

