मोटरसाइकलमा जोखिमपूर्ण स्टन्ट: सांसद बब्लु गुप्ताको भिडियो भाइरल भएपछि चालकलाई जरिवाना

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

सिरहा/लहान, साउन ८ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सिरहा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बब्लु गुप्ता मोटरसाइकलको पछाडि उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरीले मोटरसाइकल चालकलाई कारबाही गरेको छ।
भाइरल भिडियोमा सांसद गुप्ता गुडिरहेको बुलेट मोटरसाइकलको पछाडि उभिएको देखिएपछि सामाजिक सञ्जालमा ट्राफिक नियम उल्लंघन भएको भन्दै व्यापक आलोचना भएको थियो। त्यसपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहानले घटनाको अनुसन्धान गर्दै मोटरसाइकल चालक पिताम्बर चौधरी लाई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा यातायात व्यवस्था ऐन, २०४९ अनुसार ५०० रुपैयाँ जरिवाना गरेको जनाएको छ।
ट्राफिक प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार बागमती प्रदेश ०२–०२५ प ५२३१ नम्बरको बुलेट मोटरसाइकल चालकले ट्राफिक नियम उल्लंघन गरेकाले कानुनबमोजिम जरिवाना गरिएको हो। चालकलाई जरिवाना गरिएको रसिदसमेत सार्वजनिक गरिएको छ।
घटनापछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो गल्ती स्वीकार गर्दै उक्त कार्य क्षणिक उत्साहका कारण भएको बताएका छन्। उनले बाल्यकाल बिताएको स्थानमा पुगेपछि पुराना सम्झनामा रमाउँदा मजाककै क्रममा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको र त्यसले ट्राफिक नियम उल्लंघन भएको आफूले महसुस गरेको उल्लेख गरेका छन्।
सांसद गुप्ताले आफ्नो व्यवहारप्रति क्षमायाचना गर्दै भविष्यमा यस्ता गल्ती नदोहोर्‍याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

Leave a Comment