कलैया, बारा । प्रतिनिधिसभा सदस्य अरविन्द साहलाई सामाजिक सञ्जालमार्फत कालो मसी दल्ने चेतावनी दिएपछि पक्राउ परेका नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य नेजामुद्दिन अंसारी मिलापत्रपछि बिहीबार रिहा भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले अंसारी मिलापत्रपछि रिहा भएको पुष्टि गर्दै घटनाको विवाद आपसी समझदारीमा टुंगिएको जानकारी दिए।
अंसारीले केही दिनअघि आफ्नो फेसबुकमार्फत ‘ओपन च्यालेन्ज’ लेख्दै बारा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य अरविन्द साहलाई जहाँ भेटे पनि कालो मसी दल्ने चेतावनी दिएका थिए। साथै, उनले सांसद साहले निर्वाचनका बेला गरेका प्रतिबद्धताअनुसार १ प्रतिशत पनि काम गर्न नसकेको आरोप लगाएका थिए।
उक्त अभिव्यक्तिपछि शान्ति–सुरक्षामा असर पर्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय बाराले अंसारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो।
रिहा भएपछि अंसारीले आफ्नो फेसबुकमार्फत सार्वजनिक रूपमा गल्ती स्वीकार गर्दै भविष्यमा यस्ता गतिविधि नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले लेखेका छन्, “सोसल मिडिया मार्फत सामाजिक सद्भाव, शान्ति–सुव्यवस्थामा खलल पुर्याउने वा धाकधम्कीको अभिव्यक्ति दिनु कानुनी अपराध हो, यो वाक स्वतन्त्रता कदापि होइन। मैले भुलवश गरेको गल्ती सच्याउँदै मेरा पुराना स्टाटसहरू डिलिट गरेको छु। साथै, कलैयाको सामाजिक तथा आर्थिक विकासका लागि सबैलाई सकारात्मक रूपमा अघि बढ्न अनुरोध गर्दछु। धन्यवाद।”
घटनापछि सामाजिक सञ्जालमा गरिने अभिव्यक्ति, त्यसको कानुनी सीमा तथा सार्वजनिक व्यक्तिप्रति लक्षित धम्कीपूर्ण अभिव्यक्तिको विषयमा स्थानीयस्तरमा व्यापक चर्चा भएको छ। प्रहरीले पनि सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न सबैलाई आग्रह गरेको छ।
मिलापत्रपछि नेविसंघका केन्द्रीय सदस्य नेजामुद्दिन अंसारी रिहा
Leave a Comment
Leave a Comment

