ट्रम्पको पहलपछि हेज्बुल्लाह–इजरायलबीच युद्धविराम सहमति

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

लेबनानमा सक्रिय सिया राजनीतिक तथा सशस्त्र समूह हेज्बुल्लाह र इजरायलबीच युद्धविराम गर्ने सहमति भएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा भएको वार्तापछि दुवै पक्षले एकअर्काविरुद्ध आक्रमण रोक्न सहमति जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
अमेरिकास्थित लेबननी दूतावासका अनुसार अमेरिकी प्रस्तावलाई हेज्बुल्लाहले स्वीकार गरेको छ। सम्झौताअनुसार अब हेज्बुल्लाहले इजरायलमाथि आक्रमण नगर्ने तथा इजरायलले पनि लेबनानका विभिन्न क्षेत्रमा हवाई तथा सैन्य हमला रोक्ने सहमति भएको बताइएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि युद्धविराम भएको पुष्टि गरेका छन्। उनले हेज्बुल्लाहले आक्रमण नगरेसम्म इजरायलले पनि सैन्य कारबाही नगर्ने बताएका छन्। तर यदि पुनः इजरायली सहर र नागरिकलाई लक्षित गरी हमला भए कडा जवाफ दिइने चेतावनी समेत दिएका छन्।
लेबननी दूतावासले सोमबार राति जारी गरेको वक्तव्यमा बेरुतको दक्षिणी क्षेत्रमा इजरायली आक्रमण रोकिने र त्यसको बदलामा हेज्बुल्लाहले इजरायलमा रकेट तथा अन्य हमला नगर्ने उल्लेख गरिएको छ। युद्धविराम लेबनानभर लागू हुने बताइएको छ।
राष्ट्रपति ट्रम्पले आफूले इजरायली प्रधानमन्त्री नेतन्याहु र हेज्बुल्लाह पक्षका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गरेको जानकारी दिएका छन्। उनका अनुसार दुवै पक्ष गोलाबारी अन्त्य गर्न तयार भएका हुन्।
लामो समयदेखि तनावग्रस्त रहेको इजरायल–लेबनान सीमाक्षेत्रमा यो सहमतिपछि केही राहत मिल्ने अपेक्षा गरिएको छ।

Leave a Comment