अमेरिकाको धम्कीबीच रुस–इरान संयुक्त नौसैनिक अभ्यास

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, फागुन ७ — इरान र रुसले बिहीबार ओमानको सागर तथा उत्तरी हिन्द महासागर क्षेत्रमा संयुक्त नौसैनिक अभ्यास गरेका छन्।
संयुक्त अभ्यासका प्रवक्ता रियर एडमिरल हसन मग्सुदलुले अभ्यासको उद्देश्य क्षेत्रीय समुद्री सुरक्षा सुदृढ गर्नु र दुई देशबीचको समुद्री सहकार्य बढाउनु रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो अभ्यास त्यस्तो समयमा भएको हो, जब अमेरिकाले इरानमाथि सम्भावित आक्रमणको चेतावनी दिँदै इरान नजिकै आफ्ना युद्धपोत तैनाथ गरेको छ। यद्यपि तनाव बढिरहेका बेला अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता पनि जारी रहेको जनाइएको छ।

यसैबीच रुसले मध्यपूर्व क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति बढेको कारण इरान आसपासको सुरक्षा अवस्था थप संवेदनशील बनेको टिप्पणी गरेको छ। साथै रुसले सम्बन्धित सबै पक्षलाई संयम र सावधानी अपनाउन अपिलसमेत गरेको छ।

रुस र इरानबीच दीर्घकालीन रणनीतिक साझेदारीको सम्झौता रहे पनि उक्त सम्झौतामा पारस्परिक सैन्य सहायता सम्बन्धी प्रावधान स्पष्ट नभएको बताइएको छ।

Leave a Comment