काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणबारे अन्योल देखिएका बेला स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले निर्माण प्रक्रिया कुनै हालतमा नरोकिने स्पष्ट पारेकी छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिइन्।
तर, नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले दुर्घटनामा परेका नागरिकलाई तत्काल उपचार सेवा उपलब्ध गराउन लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा युनिट सञ्चालन गर्ने तयारी गरिएको उनले बताइन्।
मन्त्री मेहताका अनुसार लहान अस्पतालमा सीटी स्क्यान, आवश्यक चिकित्सकीय जनशक्ति, बिरामीको पर्याप्त चाप र ब्लड बैंकलगायत ट्रमा सेवा सञ्चालनका लागि आवश्यक आधारभूत पूर्वाधार उपलब्ध छन्। त्यसैले तत्कालका लागि त्यहाँ ट्रमा युनिट सञ्चालन गर्ने निर्णय गरिएको हो।
लहानको ट्रमा युनिट ढल्केबरको विकल्प होइन
मन्त्री मेहताले लहानमा ट्रमा युनिट सञ्चालन गर्ने निर्णयलाई ढल्केबरमा निर्माणाधीन ट्रमा सेन्टरको विकल्पका रूपमा नबुझ्न आग्रह गरिन्।
“लहानमा ट्रमा युनिट सञ्चालन गर्नु ढल्केबरको विकल्प होइन। नयाँ संरचना निर्माण सम्पन्न नहुँदासम्म नागरिकलाई तत्काल उपचार उपलब्ध गराउने अन्तरिम र व्यावहारिक व्यवस्था हो।”
उनले एक स्थानमा दीर्घकालीन स्वास्थ्य पूर्वाधार निर्माण भइरहेका बेला अर्को स्थानमा तत्काल उपचार सेवा विस्तार गर्नु विरोधाभास नभएको बताइन्।
सरकारले आवश्यकताअनुसार देशका विभिन्न स्थानमा ट्रमा सेन्टर तथा ट्रमा युनिट विस्तार गर्ने नीति लिएको उनको भनाइ छ।
काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्य
मन्त्री मेहताले दुर्घटनामा गम्भीर घाइते भएका बिरामीलाई उपचारका लागि काठमाडौं लैजानुपर्ने बाध्यता अन्त्य गर्नु सरकारको प्रमुख उद्देश्य रहेको बताइन्।
उनका अनुसार तत्काल सेवा विस्तार र दीर्घकालीन स्वास्थ्य पूर्वाधार निर्माणलाई सरकारले सँगसँगै अघि बढाइरहेको छ।
“हाम्रो उद्देश्य एउटै हो—दुर्घटनामा परेका नागरिकले समयमै उपचार पाऊन् र उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य होस्।”
मन्त्री मेहताले ढल्केबरमा निर्माण भइरहेको ट्रमा सेन्टरलाई अघि बढाउन तथा उपलब्ध पूर्वाधारमार्फत नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने वातावरण बनाउन जनप्रतिनिधि र सम्बन्धित सबै पक्षसँग सहयोगका लागि आग्रहसमेत गरेकी छन्।

