विषाक्त रक्सीको सेवनबाट बारामा एकै गाउँका तीन जनाको मृत्यु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा- ३१ भदौ ।
बारामा विषाक्त रक्सीको सेवनबाट एकै गाउँका तिन जनाको मृत्यु भएको छ । सुवर्ण गांउपालिका-३ पचगछियाका तिनै जनाको विषाक्त घरेलु मदिराको सेवनबाट मृत्युु भएको हो ।
सुवर्ण गाउँपालिका–३ पचगछियाका करिब ४५ वर्षीय गोपाल यादव, ५० वर्षीय ऐजाजुल मिया र २७ वर्षीय रविशंकर यादवको मृत्युु भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन ।
गांउमै अवैध रूपमा सञ्चालनमा रहेको रक्सी भट्टी पसलमा मदिरा सेवन गरेका थिए । विषाक्त मदिरा सेवनबाट तिनै जनाको मृत्युु भएको हुनसक्ने आशंका गरिएको छ ।
​बिहारमा रक्सी प्रतिबन्ध भएकाले दशगजा क्षेत्रमा भारतीय नागरिकलाई लक्षित गरी अवैध मदिरा पसलहरू सञ्चालनमा रहेको छ।
मृतकहरूको शव परिवारजनले प्रहरीलाई जानकारी नदिई आफैंले अन्त्येष्टि गरिसकेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डीएसपी) बिजयराज पाण्डेका अनुसार घटनाबारे प्रहरीलाई पछि मात्र जानकारी आएको हो। “शव जलाइसकिएको र प्रहरीलाई जानकारी नदिईएको हुँदा प्रारम्भिक विवरण पत्ता लगाउन ढिलाइ भयो, घटनाबारे थप अनुसन्धान भइरहेको छ,” डीएसपी पाण्डेले बताए।
यस घटनापछि गाउँमा त्राससँगै शोकको वातावरण छाएको छ। प्रहरी भने मृत्युको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धानमा जुटेको जनाएको छ।

Leave a Comment