काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अहिलेसम्मकै कडा आर्थिक कारबाही गर्ने चेतावनी दिएका छन्। इरानसँगको लामो समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भइरहेका वार्तामा प्रगति हुन नसकेपछि ट्रम्पले तेहरानमाथि थप दबाब बढाउने संकेत गरेका हुन्।
ट्रम्पले बुधबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानले सम्झौतामा पुग्ने अवसर गुमाएको आरोप लगाउँदै अब उसले कठोर आर्थिक दबाब र अन्तर्राष्ट्रिय एक्लोपन सामना गर्नुपर्ने बताएका छन्।
उनका अनुसार इरानसँग व्यापार वा व्यावसायिक कारोबार गर्ने अन्य देशसमेत अमेरिकी प्रतिबन्धको दायरामा पर्न सक्नेछन्। इरानलाई आर्थिक, वित्तीय वा अन्य कुनै माध्यमबाट सहयोग गर्ने मुलुकले गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने ट्रम्पको चेतावनी छ।
तेल तस्करी, वित्तीय कारोबार, नगद हस्तान्तरण, एक्सचेन्ज हाउस, जहाज दर्ता तथा इरानसँग जोडिएका अग्र कम्पनीमार्फत हुने कारोबार तत्काल रोक्नुपर्ने ट्रम्पले बताएका छन्।
इरानबाट उत्पन्न खतरा अन्त्य गर्न अमेरिकाका सहयोगी राष्ट्रहरू एकजुट हुनुपर्ने उनको भनाइ छ। ट्रम्पले यसअघि पनि इरानमाथि आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिँदै आएका छन्।
अमेरिकाले यसअघि नै इरानको तेल तथा अन्य प्रमुख आर्थिक क्षेत्रलाई लक्षित गर्दै विभिन्न प्रतिबन्धहरू लगाइसकेको छ। पछिल्लो चेतावनीले भने इरानसँग कारोबार गर्ने तेस्रो मुलुकमाथिसमेत अमेरिकी दबाब बढ्न सक्ने संकेत गरेको छ।
इरानसँग कारोबार गर्ने मुलुकलाई समेत कारबाही गर्ने ट्रम्पको चेतावनी
Leave a Comment
Leave a Comment

